लक्षणसहितका कोरोना भाइरस संक्रमित बढ्दै गएपछि रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आईसीयू बिरामीले भरिएको छ।
१६ ओटा आईसीयू बेड रहेको अस्पतालमा संक्रमित बढेसँगै सबै भरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।
‘यहाँ केही बिरामीको क्रिटिकल अवस्थामा उपचार भइरहेको छ। नयाँ गम्भीर प्रकृतिका बिरामी उपचार गर्न आएमा आईसीयूमा ठाउँ छैन’, उनले भने, ‘अहिले लक्षणसहितका गम्भीर प्रकृतिका बिरामी बढ्ने क्रम जारी छ।’ आईसीयूमा रहेका १६ जना बिरामीमध्ये २ जनाको स्वास्थ्य अवस्था भने निकै क्रिटिकल रहेको डा.थापाले बताए।
क्रिटिकल अवस्थामा रहेका दुईमध्ये एक जना रुपन्देहीकै हुन भने अर्का एक जना कपिलवस्तुका जिल्लाका हुन्। उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यस्तै, आईसीयूमा उपचाररत ६ जनाको अवस्थामा पनि गम्भीर रहेको डा.थापाले जानकारी दिए। अन्य ८ जनाको स्वास्थ्य स्थिति भने स्थिर छ।
उपचाररत बिरामीहरुमा स्वासप्रश्वासमा समस्या देखिने, ज्वरो आउने, निमोनिया, रुघाखोकी लगायतका समस्या देखिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यहाँ २१ जना कोरोना संक्रमितको भने जनरल वार्डमा राखेर उपचार भइरहेको छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले पछिल्लो समय संक्रमितहरुमा जटिल समस्या देखिने गरेको बताए। उनले जटिल समस्या देखिएकै कारण आईसीयू कक्ष भरिन थालेको बताए।
खासगरी रुपन्देही आसपासका क्षेत्रका संक्रमितहरुमा बढी समस्या देखिएको डा.गिरीले जनाए। ‘बिरामी थपिने क्रम बढेकाले हामीले तत्काल आईसीयू पनि थप गर्ने तयारी गरिरहेका छौं’, उनले भने, ‘अन्य ठाउँमा आईसीयू खाली रहेकाले तत्काल गम्भीर बिरामी आए दाङ, नेपालगन्ज लगायतका ठाउँमा लैजान्छौं।’ सामाजिक विकास मन्त्रालयले मंक्रमणको जोखिमलाई मध्यनजर गरेर आईसीयू थप गर्ने उनले बताए।
प्रदेश सरकारले बुटवल धागो कारखानासहित दाङ, बाँके र भैरहवामा आईसीयू कक्ष बनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भीम अस्पतालमा ५, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा १० र केन्द्रीय संस्कृत विद्या पिठ बेलझुण्डी दाङमा पनि १० वटा आईसीयू बेड छन्।
तर, भीम अस्पतालमा रहेको आईसीसयू सञ्चालनका लागि भने दक्ष जनशक्ति छैनन्। जसले गर्दा तत्काल यहाँ बिरामीलाई ल्याएर आईसीयूमा राखी उपचार हुने सम्भावना छैन। दाङ र बाँकेका सबै आईसीयू अहिले खाली छन्। लक्षणसहितका गम्भीर बिरामी नभएकाले आईसीयू खाली भएको बताइएको छ।
प्रतिक्रिया