पछिल्लो समय देशभर कोरोना संक्रमण तीव्र रुपमा बढ्दो छ। समुदायस्तरै संक्रमण फैलिएकाले मानसिक भयले गर्दा आमनागरिक अत्तालिएका छन्। एकअर्काको घरमा आउजाउ बन्दजस्तै छ। कतिले मेरो घरमा नआइदिनुहोला र म तपाइँको घरमा पनि आउँदैन भन्ने सन्देश सामाजिक संजालमा राखिरहेका छन्।
त्रसित नागरिलाई आत्मबल बलियो बनाउन सहयोग गर्ने कमै छन्। यस्तो अवस्थामा उनीहरुलाई नजिकबाट ढाडस दिने को होला? एउटै उत्तर– आफन्त वा स्थानीय जनप्रतिनिधि। आफन्तसँगै आफूले चुनेको प्रतिनिधिले ढाडस दिँदा पक्कै पनि नागरिक खुसी हुन्छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ का जनप्रतिनिधिले वडाबासीलाई संक्रमणसँग जुध्न ढाडस मात्रै दिएका छैनन्, उनीहरुको स्वास्थ्यलाई ख्याल गरि कोरोना बीमासमेत गराइरहेका छन्।
सामाजिक दूरी कायम राख्दै यस वडाका प्रतिनिधि घरघरमा बीमा गराउँदै हिँड्छन्। यसले स्थानीय जनता हर्षित छन्। ‘नागरिकको स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो। सकभर संक्रमणबाट जोगिनुपर्छ। यदि संक्रमित भइहाले बीमावापत आउने रकमले केही राहत मिल्छ भन्ने उद्देश्यले हामी कोरोना बीमा गराउँदै हिँडेका छौं’, वडाअध्यक्ष करुन्जन श्रेष्ठले भने।
साँझ–बिहान यहाँका जनप्रतिनिधिहरु वडाबासीको घरघरमा पुग्छन्, बीमा गराउँछन्। यतिमात्रै होइन, उनीहरुले कोरोनाबाट बच्ने उपायसमेत सिकाउँछन्। जसले स्थानीयमा महामारीबाट जुध्ने थप हौसला मिलेको छ। वडाअध्यक्ष श्रेष्ठसँगै, वडा सदस्यहरु सरोज ठकुरी र कुमार गुरुङको आजभोलिको दैनिकी बीमा केन्द्रित छ।
सरकारले कोरोना बीमा गराउन आह्वान गरेको छ। तर, नागरिकस्तरमा बुझाइको कमीले त्यसप्रति खासै आकर्षण छैन। बीमा गराउने इच्छा भएकाहरु संक्रमणको जोखिमका डरले वडा कार्यालयसम्म पुगेका छैनन्। अर्कोतर्फ रुपन्देहीमा लकडाउन भएकाले वडाबाट हुने कामसमेत हुन सकेका छैनन्। यस्तो अवस्थामा यहाँका जनप्रतिनिधि घरमै पुगेर बीमा गर्न थालेका हुन्।
‘बीमा गर पनि भन्ने तर घर बाहिर ननिस्के पनि भन्ने। यस्तो अवस्थामा कसरी नागरिकले वडाबाट सिफारिस लगेर बीमा गर्न सक्छन्?’, वडा सदस्य सरोज ठकुरीले भने, ‘त्यसैले हामीले आफै सिफारिस पत्र र बीमाको फारम बनाएर घरघरमा पुगेर बीमा गरिरहेका छौं।’ ठकुरी एक्लैले नै सुरुमा घरघरमा पुगेर बीमा गर्ने अभियान थालेका थिए। उनको अभियानबाट प्रभावित भएपछि बल्ल वडाअध्यक्ष श्रेष्ठ र सदस्य गुरुङले साथ दिएका हुन्।
एउटा कोरोना बीमा गर्न ६ सय रुपैयाँ लाग्छ। तर, सरकाले ५० प्रतिशत व्यहोरेकाले अहिले ३ सयमै बीमा हुन्छ। बिमित संक्रमित भए उसले एक लाख रुपैयाँ बीमावापतको रकम पाउँछ। सिद्धार्थनगर १२ मा ३ सय घरधुरीका एक हजार सदस्यको घरमै पुगेर बीमा गरिसकेको ठकुरी बताउँछन्। वडामा एक हजार ५ सय भन्दा बढी घरधुरी छन्। आफूहरु बीमा गर्न स्थानीयको घरमा जाँदा उनीहरु निकै हर्षित भएर बीमा गर्ने गरेको अर्का वडा सदस्य गुरुङ बताउँछन्।
जनप्रतिनिधि घरमै आएर बीमा गर्न थालेपछि वडामा सिफारिश लिन जानुपर्ने र बीमा कम्पनीको कार्यालय खोज्दै हिँड्नु पर्ने समस्याको अन्त्य भएको भीमकाली पथकी सुमित्रा गोदार बताउँछिन्। भन्छिन्, ‘जोखिमले बाहिर निस्कनै डर लागेको थियो। अर्कोतर्फ प्रक्रियागत झन्झट उस्तै थिए। मन भएर पनि बीमा गर्न जान सकेकी थिइन्। तर, घरमै आएर हाम्रा जनप्रतिनिधिले बीमा गरिदिएपछि निकै हर्षित छु। यस्ता जनप्रतिनिधि पाएकामा गौरव लाग्छ। अन्य ठाउँका प्रतिनिधिले पनि पाठ सिकून।’
बीमासँगै कोरोनाबाट बच्ने उपाय, वडामा संक्रमित भेटिइहाले उनीहरुलाई गर्ने व्यवहारबारे पनि आफूहरुलाई प्रतिनिधिले सिकाउने गरेको स्थानीयको भनाइ छ। ठकुरी भन्छन्, ‘वडाबासी कसैलाई पनि सकरभर संक्रमण नहोस्, भइहाले हामीले उसलाई हौसला, मायाममता र रोगसँगे लड्ने क्षमताको विकास गर्न प्रोत्साहन दिनुपर्छ। यसका लागि स्थानीयलाई सूसुचित गराएका छौं।’
बीमा गर्दा जनप्रतिनिधिलाई न कुनै कमिसन आउँछ, न त उनीहरु इन्स्योरेन्स कम्पनीका एजेन्ट नै हुन्। यो उनीहरुको निस्वार्थ सेवा हो। ‘यो हाम्रो एउटा जनप्रतिनिधिको हैसियतले नागरिकप्रतिको उत्तरदायित्व हो। त्यसैले सबैले बीमा गर्नुसु’, गुरुङले भने। १३ वटा वडा रहेको नगरमा वडा नम्बर १२ का प्रतिनिधिले बीमा गर्न घरघरमै पुगेर अभियान चलाएपछि अन्य वडाले पनि तयारी गरिरहेका छन्।
प्रतिक्रिया