ad ad

समाज


त्रिशूलीमा हिजोअस्ति खोजेकै ठाउँमा आज पनि बेपत्ता बस र यात्रुको खोजी गरिँदै

त्रिशूलीमा हिजोअस्ति खोजेकै ठाउँमा आज पनि बेपत्ता बस र यात्रुको खोजी गरिँदै

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८१ मंगलबार ८:४६, चितवन

त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी कार्य आज १२औँ दिन पनि जारी  छ। 

गएको असार २८ गते चितवनको नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने ठाउँबाट दुईवटा बस त्रिशूली नदीमा खस्दा ६२ जना यात्रु बेपत्ता भएका थिए। बेपत्तामध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनाको एक हप्तापछि गत शनिबार आएको भारतीय टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेर आइतबारदेखि ‘सोनार क्यामरा’सहित खोजीकार्य सुरु गरेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भारतको राष्ट्रिय आपदा मोचन बलका प्राविधिकहरुसहितको संयुक्त टोलीले आज पनि हिजोअस्ती खोजेकै ठाउँमा दोहोर्याएर बेपत्ता बस र यात्रुको खोजी कार्य सुरु गरेको हो। 

आज बिहान साढे आठ बजेबाट दोहोर्याएर सिमलतालदेखि  घुमाउने केराबारीसम्म खोजी कार्य सुरु गरिएको चितवन प्रहरीले जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि पुनः खोजतलास थालिएको हो। भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको बताएका छन्। उनीहरुले नदीभित्र शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको हो।

प्राविधिक टोलीले सोमबार साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको थियो। 

असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा र काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए।

एन्जल डिलक्समा २७ जना र गणपतिमा ४१ यात्रु रहेका पुष्टि भएको छ। गणपति बसका तीनजना यात्रु त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए।

बेपत्ताको खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल सडजास्टर रेस्पोन्स फोर्स) बाट १२ जनाको एक प्राविधिक टोली नेपाल आएको छ।

त्रिशूलीमा हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव फेला परेको छ। भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन्। हालसम्म १८ वटा शवको सनाखत भएपनि ७ वटा शवको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 

सनाखत भएका शवमा १६ वटा पुरुषका छन् भने २ वटा महिलाका छन्। सनाखत भएका शव स्थानीय प्रशासनले आफन्तलाई जिम्मा लगाइसकेको छ। सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका हुन् भने ५ वटा भारतीय नागरिकका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .