समाज


स्याङ्जामा जँड्याहा समूहको कुटपिटबाट प्रहरीका असई घाइते, पोखरामा उपचार हुँदै

स्याङ्जामा जँड्याहा समूहको कुटपिटबाट प्रहरीका असई घाइते, पोखरामा उपचार हुँदै

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १०:५८, काठमाडौँ

स्याङ्जामा जँड्याहा समूहको कुटपिटबाट प्रहरीका एकजना असई घाइते भएका छन्। 

गएराति साढे १० बजे सदरमुकाम वालिङ नगरपालिका १३ मा गस्तीमा रहेका प्रहरीका  असई मोहन सिंहमाथि तीन जना युवाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए।

सिंह थुमपोखरा प्रहरी चौकीका इन्चार्ज हुन्।

‘कुटपिटमा संलग्न तीन जना पक्राउ परेका छन्,’ डीएसपी रानाले नेपालखबरसँग भने, ‘घाइते असई सिंहको पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।’

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले वालिङ नगरपालिका–१२ का २५ वर्षीय काजी गुरुङ र २४ वर्षीय सुदीप गुरुङलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। 

कुटपिटमा संलग्न अर्का स्थानीय २८ वर्षीय रविन गुरुङलाई भने उपचारको लागि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको डीएसपी रानाले बताए।

‘असईमाथि कुटपिट हुन थालेपछि भेला भएका स्थानीयले कुटपिट गर्दा रविन घाइते भएका हुन्, उनलाई पनि उपचारको लागि अस्पताल भर्ना गरिएको छ,’ डीएसपी रानाले भने। 

राति जाँड खाएर एक समूहले होहल्ला गरिरहेको सूचना पाएपछि असई सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यही क्रममा जँड्याहाहरुलाई नियन्त्रणमा लिने क्रममा असई सिंहमाथि कुटपिट भएको हो। घाइते सिंहको टाउकोमा चोट लागेको छ। 

घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी रानाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .