ad ad

समाज


मध्यराति बस्तीमा पस्यो बाढी, ४० घर जोखिममा

३ बालबालिकाको मृत्यु, १ बेपत्ता, सात जना घाइते
मध्यराति बस्तीमा पस्यो बाढी, ४० घर जोखिममा

दिनेश बुढा
साउन १, २०८१ मंगलबार ९:३१, सुर्खेत

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ मा पर्ने तातोपानी बस्तीमा बाढी पसेको छ। गएराति अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। 

तातोपानी गाउँको छेउमै रहेको तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढी बस्तीमा पसेको हो। बाढी बस्तीमा पसेर घर भत्काउदा सात जना घाइते भएका छन्। 

मृत्यु हुनेमा रुद्रबहादुर पुनका दुई वटी छोरी ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन रहेका सोही वडाका वडाध्यक्ष खुम्मे कुसारीले जानकारी दिए। उनका अनुसार लेदोसहितको बाढीले सोही ठाउँका लालबहादुर सार्कीको ४ वर्षीया मनिषा सार्कीको समेत मृत्यु भएको छ। 

यस्तै, तातोपानी खोला र झिन्चौर खोलामा आएको लेदो सहितको बाढी बस्तीमा पसेर स्थानीयहरुको उठिबास बनाएको उनले बताए। 

उनले भने, ‘यी खोला सानै हुन्। बाढी आउने र बस्ती नै बगाउने खालका थिएनन्। यी बस्ती निकै पुराना हुन्। तर, गएराति आएको अविरल वर्षाले पहाड नै भत्किएर लेदो सहितको बाढी बस्तीमा पसेपछि यहाँका नागरिक चिन्तामा परेका छन्। बस्ती नै बगाउने गरेर यस्तो बाढी पहिला आएको थिएन्।’

वध्यक्ष कुसारीले लेदोसहितको बाढी बस्तीमा पस्दा ४० घर जोखिममा परेका बताए। 

यस्तै, वडाध्यक्ष खुम्मे कुसारीले गएराति ११ बजेको समयमा आएको पहिरोसहितको बाढीले ४० घर जोखिममा रहेको जानकारी दिए। उनका अनुसार बगर र तातोपानी स्थानका ४० घर बाढीका कारण जोखिममा परेका छन्। 

वडाध्यक्ष कुसारीले भने, ‘गएराति आएको लेदोसहितको बाढी तातोपानी गाउँमा पस्दा ५ वटा घर बगाएको छ। पाँच वटा घर बगाउदा तीन जना बालबालिकाको मृत्यु भयो। बाढीमा परी बेपत्ता भएका ३७ वर्षीय डिल्ली बुढाथोकीको खोजी कार्यमा सुरक्षाकर्मी र स्थानीयहरु बिहानदेखि नै खटिएका छन्।’

वडाध्यक्ष कुसारीले बाढीबाट घाइते हुने सात जनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए। 

घाइते हुनेमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको छन्।

यस्तै, वडाध्यक्ष कुसारीका अनुसार जोखिममा रहेका ४० घरका स्थानीयहरुलाई सुरक्षीत ठाउँमा सार्ने काम पालिकाले गरिरहेको छ। केही स्थानीयहरुलाई बस्ती नजिकै रहेको काट उद्योग र खुल्ला स्थानमा पालहरु टाँगेर स्थानीयलाई सार्ने काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .