ad ad

समाज


नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो, यस्ता छन् २ कारण

नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो, यस्ता छन् २ कारण

नेपालखबर
चैत १२, २०८० सोमबार १४:७, मोरङ

मोरङ जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको स्थानीय प्रशासनले जनाएको छ।

स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले जानकारी दिए। 

परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या जिल्लामा वर्षेनी बढ्दै गएको हो। 

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले मात्रै नागरिकता परित्याग गरेका थिए। 

मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको स्थानीय प्रशासनले जनाएको छ। 

निरौलाका अनुसार गत वर्ष भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको संख्या बढेको छ। गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्नेहरुले नागरिकता परित्याग गर्ने गरेका थिए।

‘यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढेको हो,’ निरौलाले भने। एनआरएनको नागरिकता लिनेमा महिला र पुरुषको संख्या बराबर रहेको उनले बताए। 

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ।

विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताए। 

‘विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता परित्याग गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्नेको संख्या पनि केही मात्रामा छ।’ 

लामो समयदेखि वैदेशिक रोजगारका साथै डीभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गर्ने गरेका छन्। 

युरोप, अमेरिका लगातय विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको उनले बताए। 

झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिव आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका सरकारी तथ्यांक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .