समाज


जब गाउँपालिकाले जाँडरक्सी खाने ४० जनालाई अबिर र मालाले सम्मान गर्‍यो (भिडिओ)

जब गाउँपालिकाले जाँडरक्सी खाने ४० जनालाई अबिर र मालाले सम्मान गर्‍यो (भिडिओ)

पाल्पाकाे रिब्दीकोट गाउँपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरु


जनार्दन पोखरेल
फागुन १८, २०८० शुक्रबार ९:५१, काठमाडौँ

हाम्रो समाजमा जाँडरक्सी खाएर होहल्ला गर्दै हिँड्ने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ, गाली गरिन्छ। 

जथाभावी जाँडरक्सी खाँदै हिँड्नेको व्यक्तिगत स्वास्थ्य पनि राम्रो हुँदैन। घर परिवार लथालिंग हुन्छ। परिवारमा सधैँ झैझगडा हुन्छ। उनीहरु समाजमा सम्मानित जीवन पनि बाँच्न पाउँदैनन्। ‘जँड्याहा’ उपनामले अपहेलितसमेत हुनुपर्छ।

जाँडरक्सी खाएर जथाभावी गर्दै हिँड्ने धेरै मान्छे कानुनी कारबाहीमा पनि परेका छन्। 

तर, पाल्पाको रिब्दीकोट गाउँपालिकाले भने नियमित जाँडरक्सी खाने गाउँका ४० जनालाई सम्मान गरेको छ। 

रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने पालिका क्षेत्रका सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो। 

‘हामीले खबर ६८ जनालाई गरेका थियौँ,’ गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘तर, खबर गरेका सबै आउनु भएन। जो-जो आउनु भयो, उहाँहरुलाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ।’

जाँडरक्सी खानेलाई सम्मान गरे पनि कार्यक्रमको ब्यानरमा भने ‘विपन्न वर्ग (श्रमिक)लाई सचेतना तथा सम्मान’ कार्यक्रम लेखिएको थियो। 

‘हामीले खासमा जाँडरक्सी खाएको कारणले उहाँहरुलाई सम्मान गरेका होइनौँ,’ कार्कीले भने, ‘उहाँहरुलाई जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन यो कार्यक्रम गरेका हौँ।’

सम्मानित हुने ४० जना सबै श्रमिक भएका अध्यक्ष कार्कीले बताए।

‘काम गरेर खाने वर्गको राज्यले सम्मान गर्नुपर्छ। सोही अनुसार हामीले उहाँहरुलाई सम्मान गरेका हौँ। कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भएको छ, याे अनुकरणीय कुरा हाे,’ अध्यक्ष कार्कीले भने।

उनले आफ्नो पालिकामा नियमित जाँडरक्सी खाएर आफ्नो स्वास्थ्य, घर परिवार र आर्थिक अवस्था दयनीय अवस्थामा पुगेकाहरुको वडा कार्यालयमार्फत् विवरण संकलन गरिएको जानकारी दिए। 

‘जाँडरक्सीकै कारणले धेरै घर परिवार उजाड भएका छन्। हामीले पालिकाभरी त्यस्ता मान्छे झण्डै एक सय जनाजति होलान् भन्ने अनुमान गरेर वडा कार्यालयमार्फत् विवरण संकलन सुरु गरेका थियौँ,’ अध्यक्ष कार्कीले भने, ‘तर, संकलन गर्दै जाँदा पालिकाभरी त्यस्ता मान्छे जम्मा ६८ जना फेला परे। तर, कार्यक्रममा ४० जना मात्रै आउनु भयो। २८ जना आउनु भएन। अर्को कार्यक्रम गरेर हामी फेरि उहाँहरुलाई सम्मान गर्ने छौँ।’

कार्यक्रममा सहभागी ४० जनाको जनही ३५ सय रुपैयाँको दरले स्वास्थ्य बिमा पनि गरिएको छ। साथै कार्यक्रममा सहभागीलाई अबिर, माला र खादा पहिर्याएर सम्मान गरिनुका साथै उनीहरुलाई न्यानो र बलियो खालको एक-एक जोर ट्रयाकसुटसमेत प्रदान गरिएको अध्यक्ष कार्कीले बताए। 

उनीहरुको स्वास्थ्य बिमा अध्यक्ष कार्कीले आफ्नाे व्यक्तिगत खर्चमा गरिदिएका हुन्। 

‘मैले चुनावकै बेला आफूले पाउने पारिश्रमिक गरिब, मजदुर र श्रमजीवि वर्गको हितमा खर्च गर्ने घोषणा गरेको थिएँ,’ अध्यक्ष कार्कीले भने, ‘सोही अनुसार हिजो श्रमजीवि वर्गका ४० परिवारको जनही ३५ सय रुपैयाँका दरले स्वास्थ्य बिमा गरेका छाैँ।’

कार्यक्रममा सहभागीमध्येबाट ३/४ जनाले मन्तब्यसमेत व्यक्त गरेका थिए।

केहीले ‘आजैबाट जाँडरक्सी छाड्छौँ’ भनेर प्रतिवद्धतासमेत जनाएका छन्। सहभागी झण्डै १५ जनाले अब दैनिक ‘डोज’ घटाउँदै गएर केही समयपछि जाँडरक्सी पूरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका अध्यक्ष कार्कीले बताए।

कार्यक्रममा सहभागी हुँदै गर्दा रक्सीकाे नसामै मञ्चमा पुगेका एक पुरुषले आफूलाई ‘रक्सीले बहुला’ बनाएको गीत गाएका थिए। 

त्यसक्रममा उनले आफूले रक्सी खाँदा कक्षा ८ मा पढ्दै गरेकी छोरीको पढाईसमेत बिग्रिएको भन्दै दु:ख मनाउ गरे। मन्तव्यको क्रममा उनले भने,  ‘छोरी अब चिन्ता नलेऊ, म आजैबाट रक्सी खान छाड्छु। तिमीलाई चाहेजति पढाउने प्रतिबद्धता मेरो भयो।’ 

कार्यक्रममा सहभागीलाई रक्सीको नियमित सेवनले स्वास्थ्यमा पारिरहेको असरको बारेमा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले प्रशिक्षण दिएका रिब्दीकोट गाउँपालिकाकाे प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार सहायक शिव पोखरेलले जानकारी दिए। 

‘उहाँहरुमध्ये धेरेजना बिरामीसमेत हुनुहुन्छ। उहाँहरु श्रम गरेर खाने जनशक्ति हो,’ पोखरेलले भने, ‘उहाँहरुको स्वास्थ्य उपचार, रोजगारीसहितका काममा अब पालिकाले सहयोग गर्नेछ। काम गर्ने मान्छेलाई रिब्दीकोटमा मासिक २५/३० हजार कमाउन समस्या छैन।साेही अनुसार हामी उहाँहरुलाई बाटाे देखाउने छाैँ।’

कार्यक्रममा सहभागीलाई जाँडरक्सीकाे नियमित सेवनले सम्बन्धित व्यक्तिको स्वास्थ्य, बालबालिकाको पढाई, परिवार र समाजमा परिरहेको असरको विषयमा बुझाइएको थियाे। 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, पत्रकार चुडामणि तिमल्सिना, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी लगायतले मन्तब्य व्यक्त गरेका थिए। त्यसक्रममा जाँडरक्सीकाे कुलत छाडेर समाजमा उदाहरणीय जीवन विताइरहका रामप्रसाद न्यौपानेले जाँडरक्सीको कुलतमा पर्दा समाजमा पर्ने नकारात्मक प्रभावको अनुभव सुनाएका थिए।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .