ad ad

समाज


बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने

बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८१ शनिबार ७:१४, महोत्तरी

महोत्तरीको बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। 

बर्दिबास –३, गौरीडाँडामा विगत १० वर्षदेखि सर्पदंश उपचार केन्द्र सञ्चालित छ। शुक्रबार सो केन्द्रमा पुगेर बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले आलु आर्थिक वर्षमा सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन्।

यसका लागि चालु आर्थिक वर्षमा बर्दिबास नगरपालिकाले चार लाख रुपियाँ उपलब्ध गराउने उनले बताए। यो सहयोगले बर्दिबास नगर क्षेत्रका १४ वटै वडाबाट भर्ना भएका सर्पदंशका बिरामीको निःशुल्क उपचारमा पर्याप्त हुने दाबी उनले गरे। 

बिरामीको चाप बढेर खर्च अपुग भएमा पुनः थप्दै जाने पनि उनले बताए। केन्द्रले सर्पले टोकेका बिरामीको उपचार गर्दा जनही दुई हजार र बिच्छी तथा खजुरोले टोकेर आएका बिरामीसँग एक हजार रुपैयाँ शुल्क लिँदै आएको छ। 

केन्द्रमा नेपाली सेनाका छ जना जनशक्तिले उपचार सेवा दिँदै आएका छन्। 

बर्दिबास नगर क्षेत्रका बिरामीले अब त्यो रकम तिर्नु नपर्ने घोषणा मेयर क्षेत्रीले गरेका हुन्। 

विसं २०७१ मा स्थानीयको पहलमा स्थापना भएको यो केन्द्रमा अहिलेसम्म सर्पदंशका ३१ हजार बिरामीले उपचार गराइसकेका छन्। 

गएको आर्थिक वर्षमा केन्द्रमा ८ सय ८४ जना सर्पदंश र १४४ जना बिच्छी र खजुरोले टोकेका बिरामीले उपचार सेवा लिएका छन्। 

तीमध्ये बर्दिबास नगरपालिका क्षेत्रका मात्रै विषाक्त सर्पले टोकेका ३२६ जना, शङ्कास्पद अवस्थाका १७८ जना र बिच्छी तथा खजुराले टोकेका ५५ गरी ५५९ जनाको सफल उपचार भएको केन्द्रले जनाएको छ।
 
सर्पले टोकेका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम केन्द्रलाई स्वास्थ्य विभागको इपिडिमियोिलोजी शाखा काठमाडौँले निःशुल्क उपलब्ध गराउँदै आएको छ। 

बाँकी ४७ प्रकारका औषधी भने केन्द्र आफैँले किन्नु पर्छ। एन्टीस्नेक भेनबाहेक एउटा सर्पदंशका बिरामीलाई तीनदेखि पाँच हजार रुपियाँसम्मको अन्य औषधी लाग्ने गरेको  केन्द्रका स्वास्थ्यकर्मीले बताएका छन्।  

केन्द्रमा भारतको सीतामढीसम्मका बिरामीसमेत उपचारको लागि आउने गरेका छन्। त्यसैगरी महोत्तरी, सर्लाही, धनुषा, सिराहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गासम्मका सर्पदंशका बिरामी केन्द्रमा उपचारको लागि आउने गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .