बझाङको जयपृथ्वी नगरपालिका-१, चिउरीका २४ वर्षीय नवीनबहादुर सिंह कृषि विज्ञान विषयमा स्नातक तह अध्ययन गरिरहेका थिए। कृषि विज्ञ बन्ने उनको सपना थियो।
चितवनको रामपुर कृषि क्याम्पसमा पढ्ने उनी बिहीबार ओजेटी सकेको रिपोर्ट बुझाउन त्यहाँ पुगेका थिए।
नवीनकी दिदी पढाइको सिलसिलामा काठमाडौँमा बस्छिन्। केही समयअघि मात्र आमा भगवती पनि काठमाडौँ पुगेकी थिइन्।
त्यसैले क्याम्पसको काम सकेका नवीन शुक्रबार आमा र दिदी भेट्न चितवनबाट काठमाडौँ प्रस्थान गरे।
तर उनी सवार गाडी झ्याप्लेखोला पहिरोमा पुरियो। बीच बाटोमै नवीन बिते।
‘काठमाडौँबाट आमा र दिदीसँगै दसैँ मनाउन गाउँ फर्कने कुरा थियो। तर बाटोमै त्यस्तो दुःख घटना भयो’, जयपृथ्वी नगरपालिका-१ का अध्यक्षसमेत रहेका नवीनका काका डम्बरबहादुर सिंहले भने, ‘जेहेन्दार र होनहार युवा गुमाउँदा गाउँ नै शोकमग्न छ।’
उनका अनुसार नवीनका बुवा नरेन्द्र र आमा भगवती दुवै शिक्षक हुन्। बुवा नरेन्द्र प्राथमिक तह र आमा भगवती बाल विकासमा पढाउँछन्। नवीनसिंह परिवारका एक्ला छोरा थिए।
नवीनको निधनसँगै सिंह परिवारको आशाको त्यान्द्रो चुँडिएको छ।
कलिलो उमेरमै छोरा गुमाउँदा आमाबुवा विक्षिप्त छन्। नवीनको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
सिंह गत बिहीबार काठमाडौँ र धादिङको सिमानामा पर्ने झ्याप्लेखोला पहिरोमा ज्यान गुमाए।
Shares
प्रतिक्रिया