ad ad

खेल


आर्थिक संकटमा फसेको श्रीलंकालाई फुटबलले दिएको खुसी

आर्थिक संकटमा फसेको श्रीलंकालाई फुटबलले दिएको खुसी

मछिन्द्रसँगको खेलमा ब्लुस्टारका खेलाडी। तस्बिर : विक्रम राई


लक्ष्मी जि.सी
चैत २५, २०७८ शुक्रबार ११:१६, काठमाडौँ

श्रीलंका अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। संकटकै कारण इन्धनदेखि खाद्यान्नसम्मका सामग्रीको अभाव छ। यसले त्यहाँका समग्र मानिसको जनजीवन प्रभावित बनेको छ।

त्यसैमाथि देखिएको राजनीतिक अस्थिरताले त्यहाँको अन्योल झनै बढाएको छ। 

सबै क्षेत्रमा आर्थिक संकटको असर परेको श्रीलंकामा खेल क्षेत्र अछूतो रहने कुरै भएन।

यद्यपि तमाम समस्याका बाबजुद श्रीलंकाको लिग विजेता ब्लुस्टार एससीले थोरै भए पनि खुसी दिने काम गरेको छ।

खेल क्लबको होस् वा राष्ट्रिय टोलीको। विदेशी भूमिमा गएर खेल्दा त्यसले सिंगो राष्टको प्रतिनिधित्व गरेको हुन्छ।

नेपालको लिग विजेता मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दा ब्लुस्टारले श्रीलंका देशको प्रतिनिधित्व गरेको थियो। 

एएफसी कप छनोटको पहिलो चरणमा भएको खेलमा श्रीलंकाको लिग विजेता ब्लु स्टार एससी क्लबले नेपालको लिग विजेता टोली मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको छ।

मछिन्द्रको घरेलु मैदानमा भएको खेलमा २–१ को जित निकाल्दै ब्लुस्टार दोस्रो चरणमा पुगेको हो। ब्लुस्टारले अब दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। 

खेल यस्तो क्षेत्र हो, जसले धेरैलाई खुसी दिन सक्छ र सबैलाई एक बनाउन सक्छ।

मछिन्द्रसँगको जितपछि ब्लुस्टारका प्रशिक्षक बन्दरा समराकोनले भने, ‘श्रीलंकामा भएको आर्थिक मन्दीको असर त्यहाँका सबै परिवारमा परेको छ र त्यसको असर स्वाभाविक रुपमा फुटबल खेलाडीमा पनि पर्ने भयो। हामीलाई पनि निकै गाह्रो भएको थियो। तर, यस्तो समयमा यो जितले थोरै भए पनि खुसी दिएको छ।’ 

यो जितले आर्थिक संकट तथा राजनीतिक अस्थिरताको चापमा परेका खेलाडीमा केही उत्साह भर्ने काम गरेको समराकोनको भनाइ छ। 

आर्थिक संकट तथा विभिन्न अभावका बीच आफ्नो टोलीले हात पारेको जितले कुनै पनि मुलुकका नागरिकलाई छुट्टै किसिमको खुसी दिन्छ। किनकि खेलसँग हार र जितको नतिजा मात्र हैन, आम मानिसको भावना पनि जोडिएको हुन्छ। 

यसको एउटा उदाहरण नेपाल आफैं पनि हो। सन् २०१६ मा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली फुटबल टोलीले स्वर्ण जित्दा सिंगो देश नै फुटबलमय भएको थियो। 

यद्यपि त्यतिबेलाको अवस्थासँग श्रीलंकालाई तुलना गर्न भने मिल्दैन। नेपालले स्वर्णपदक जित्ने क्रममा फाइनलमा भारतलाई हराएको थियो। भारतले नै नेपालमाथि नाकाबन्दी गरिरहेकाले पनि भारतमाथिको जितमा धेरैले खुसी हुने बहाना पाएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .