ad ad

खेल


रोजनले रोजेको बाटो

रोजनले रोजेको बाटो

रोजन खड्का । तस्बिर: विक्रम राई/नेपालखबर


लक्ष्मी जि.सी
चैत २६, २०७८ शनिबार १९:१५, काठमाडौँ

मार्सल आर्टसमा मुख्यतः विभागीय खेलाडीको दबदबा रहने गरेको छ। २०७६ मंसिरमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलोपटक कराँतेको राष्ट्रिय प्रतियोगिता अहिले ललितपुरको सातदोबाटोस्थित कराँते हलमा जारी छ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित प्रतियोगिताको दोस्रो दिनको समाप्तिमा १३ इभेन्ट्सको नतिजा आइसकेको छ। 

तेस्रो तथा अन्तिम दिन ४ इभेन्ट्सको समाप्तिसँगै राष्ट्रिय प्रतियोगिता सकिनेछ। दुई दिनसम्मको खेलमा १३ मध्ये ११ स्वर्ण पदक विभागीय खेलाडी नै जितेका छन्।

बाँकी २ स्वर्ण प्रदेशका खेलाडीले जितेका छन्। यसबाट पनि विभागीय खेलाडीको प्रभाव कति छ भन्ने बुझ्न सकिन्छ। कराँतेमा मात्र होइन, मार्सल आर्टसका अन्य खेलको अवस्था पनि लगभग त्यस्तै छ। 

नियमित अभ्यासमा रहने विभागीय खेलाडीलाई हराउन प्रदेशका खेलाडीलाई सहज छैन। सीमित साधन स्रोत, छोटो समयको तयारी, कमजोर भौतिक पूर्वाधारमा गरिने तयारीबाटै प्रदेशका खेलाडीले विभागीय टोलीका खेलाडीलाई चुनौती दिँदै आएका छन्। हुन त ती अहिले विभागमा रहेर उच्च प्रदर्शन गरेका अधिकांश खेलाडी हिजो जिल्ला, तत्कालीन क्षेत्रीय, राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेरै विभागमा आबद्ध भएका थिए। 

निरन्तरको मेहनत, लगनशीलता र दृढ लक्ष्य लियो भने विभागीय खेलाडीमाथि पनि जित असम्भव भने नरहेको उदाहरण यसपटकको प्रतियोगितामा पनि देख्न मिलेको छ। जारी राष्टिय प्रतियोगितालाई नियाल्दा यस्तै देखिन्छ।  प्रदर्शनलाई छाडेर पदकको चर्चा गर्ने हो भने विभागको वर्चश्व नै छ। तर, विभागका खेलाडीलाई कडा टक्कर दिन प्रदेशका खेलाडी सफल देखिएका छन्। त्यसैको एउटा उदाहरण हुन्- प्रदेश एकका रोजन खड्का। 

८४ केजीमुनिको तौल समूहमा विभागका बलिया र लामो समयदेखि उच्च प्रदर्शन गर्दै आएका खेलाडीलाई पार गर्दै रोजन नयाँ राष्ट्रिय च्याम्पियनका रुपमा उदाएका छन्। उनी पहिलोपटक च्याम्पियन बनेका हुन्। नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफका खेलाडी रहेको समूहबाट उनी नयाँ च्याम्पियन बने।

No description available.

च्याम्पियन बन्न सजिलो पक्कै छैन। आर्मी क्लबका सुरेश जाप्रेलविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक थियो। ३ मिनेटको बाउटमा समान ६ अंक जोडेपछि विपक्षीको बढी फाउलको आधारमा रोजन विजयी भए।

सुरेशले २ फाउल गरेका थिए। सुरेश ती खेलाडी हुन्, जसले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता पुलिसका दिवस श्रेष्ठलाई हराएका थिए। दिवस आफ्नो तौल समूहका लामो समय देखिका च्याम्पियन थिए। दिवसलाई हराएका सुरेशमाथिको जित रोजनका लागि सानो सफलता थिएन। 

रोजनले पहिलो बाउटमा कर्णाली प्रदेशका खेलाडीलाई पराजित गरेका थिए। सेमिफाइनलमा एपीएफका प्रकाश खड्कालाई हराएका थिए। सेमिफाइनल लगत्तै फाइनल खेलेका रोजनका लागि त्यो समय निकै कठिन थियो। बहादुरीपूर्वक सुरेशविरुद्ध उत्रिएका रोजनले खेल सकिनासाथ तातामीबाट ओर्लने क्रममा बान्ता गरेका थिए। 

त्यो क्षण सम्झिँदै रोजनले भने, ‘फाइनल खेल अलिक छिटो भएकाले स्टामिना पुगेको थिएन। केही गाह्रो भएको थियो। खेल्ने बेलामा टाउकोमा लागेको थियो। त्यसैले बान्ता भयो।’

स्वर्ण जित्छु भन्दा पनि फाइनल पुग्न सकिन्छ भन्ने विश्वासमा रोजन संघीय राजधानी छिरेका थिए। डर थियो त, दिवसको। जसको खेल हेरेर उनले कराँते सिकिरहेका थिए। तीनै दिवस सोही तौल समूहका च्याम्पियन थिए। 

आफूले आदर्श मान्दै आएका दिवस सेमिफाइनलमै रोकिएपछि भने रोजनको आत्मबल बढेको थियो। अप्रत्यासित रुपमा प्रतियोगिताबाट बाहिरिएपछि रोजनले स्वर्ण आफ्नै हो भन्ने फाइनलअघि नै सोचेका थिए। 

एसियन गेम्सको छनोटको तयारीका रुपमा समेत लिइएको प्रतियोगितामा स्वर्ण जितेर रोजनले एउटा खुड्किलो पार गरेका छन् । रोजनको अबको लक्ष्य छ अझै राम्रो गर्दै एशियन गेम्स्मा छनोट हुने। 

रोजन भन्छन्, सबै खेलाडीको लक्ष्य राष्ट्रिय विजेता हुने हुन्छ। मेरो पनि थियो। त्यो पूरा गरेँ। तर, अब देशको लागि मेडल ल्याउन चाहन्छु। 

पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेपछि उनमा खुसीको सीमा थिएन। उनको खुसीको खबर साट्ने पहिलो हकदार थियो– परिवार। खेल सकिएपछि रोजनले आमा, विदेशमा रहेका बुबा, जुम्ल्याहा भाइलाई पालैपालो फोन गरे। 

आमालाई छोराको जितभन्दा पनि नजिकिँदै गरेको छोरोको परीक्षाको चिन्ता थियो। 

रोजनले हाँस्दै भने, ‘ममीलाई खेलबारेमा धेरै थाहा छैन। तर, सोमबारबाट मेरो परीक्षा छ त्यसैले छिटो आइज भन्नुभो। त्यसपछि बुवालाई फोन गरे उहाँले पनि बधाई दिनुभयो।’

आमाबुवाको भन्दा भाइको प्रतिक्रिया भने फरक थियो। रोजनले भाइको जवाफ सम्झिए, ‘राम्रो राम्रो ड्रेसहरु किन म पैसा पठाइदिन्छु।’ 

रोजनले भने, ‘भाइ पनि स्वदेशमा हुँदा कराँते नै खेल्थ्यो। दाजुभाइले २०७३ सालमा भएको राष्ट्रपति कपमा सँगै खेलेका थिए। त्यसमा रोजन तेस्रो, भाइ दोस्रो भएका थिए।’

रोजन तिनै खेलाडी हुन्, जसले आठौँ राष्टिय खेलकुदमा कास्य पदक जितेका थिए। त्यसपछि उनी १३ औँ सागको प्रशिक्षणमा छनोट भएका थिए। यद्यपि उनी सागका लागि छनोट हुन भने सकेनन्। त्यसपछि मोरङ नै फर्किए। त्यसपछि झन् मेहनत गरे र यसपटक च्याम्पियनको हैसियतमा घर फर्कने तयारीमा छन्।  

***

सागका लागि छनोट नभएपछि रोजनलाई खेल्न छाडेर विदेश जाउँ भन्ने मन नआएको पनि होइन। तर उनका गुरुहरूले एशियन गेम्सको छनोट हो। यो तिम्रो लागि राम्रो मौका हो भनेपछि उनी अडिए। उनले च्याम्पियनसिपका लागि तयारी सुरु गरे। 

नियमित प्रशिक्षणका कारण विभागका खेलाडी स्तरीय हुन्छन्। आर्थिकरूपमा पनि केही हदसम्म ढुक्क छन्। यस्ता कारणले मानसिकरुपमा पनि बलिया हुन्छन्। विभागका खेलाडी भनेपछि प्रदेशका खेलाडी केही हच्किन्छन्। त्यो सोचबाट रोजन एक्लै कसरी अलग रहन सक्थे र? तर उनलाई थाहा थियो, राम्रो खेल्नु नै विभागमा जाने ढोका हो। 

रोजनलाई पनि विभागमा जाने रहर छ। यसको लागि सिनियर दाइहरुसँग कुरा पनि भइराखेको उनले सुनाए। ‘राम्रो अवसर पाएँ भने विभागमा जान्छु’, २२ वर्षे रोजनले भने, ‘त्यहाँ भएन भने बाहिर जान्छु होला। परिवारबाट पनि पढेर बाहिर जाउ भन्ने सल्लाह छ।’ तर विभागबाट अवसर पाए परिवारसँग सल्लाह गरेर स्वदेशमै बस्ने उनको इच्छा छ। उनलाई थाहा छ– परिवारको सहयोग बिना खेल्न गाह्रो छ। 

उनले थपे, ‘कराँते महँगो खेल हो। यसको कपडाको लागि नै २०/३० हजार रुपैयाँ पर्छ। राम्रो लुगा सबैले किन्न सक्दैनन्। ‘हामीले कुर्ने भनेको नेशनल गेम हो। कमजोर आर्थिक अवस्था कै कारण मेरै कति साथीहरु खेल छाडेर बाहिर जाने तयारीमा छन्’, रोजनले सुनाए।

***

रोजनले प्रशिक्षणसँगै सिनियर दाइहरुको भिडियो हेरेर पनि खेल कौशल सिक्ने गर्थे। उनले कराँतेमा आफ्नो आइडलको रुपमा दिवससँगै सोनाम लामा र विजय लामालाई लिन्छन्।  

पहिला ५५ केजी तौल समूहमा स्पर्धा गर्दा आफ्नै आदर्श मानेका खेलाडीबाट हारेका पनि छन्। यो च्याम्पियनसिपमा पनि उनलाई जित्छु भन्ने आत्मविश्वास त थियो। ‘तर, दिवस दाइ फाइनलमा आएको भए गाह्रो हुन्थ्यो’, उनले भने, ‘उहाँ दश वर्षभन्दा लामो समयदेखिको च्याम्पियन। अत्यन्तै स्तरीय खेलाडी। यसपटक सेमिफाइनलमा उहाँ हारेपछि अब जित्छु भन्ने भयो।’

रोजन विकास चौधरी र गोविन्द विशंखेले प्रशिक्षण दिएर तयार पारेका खेलाडी हुन्। उनी भन्छन्, ‘गोविन्द गुरु भर्खरै आर्मीबाट अवकाश पाउनुभएको हो। प्रशिक्षणमा पनि त्यसरी नै प्रस्तुत हुनुहुन्छ कि अहिले पनि आफूलाई सेनामै रहेको महसुस हुन्छ।’

रोजनसँग ८० केजी तौल समूहमाथिको सिनियर खेलाडी सागर राउत प्रशिक्षणमा स्पारिङ पार्टनर छन्। आफूभन्दा सिनियर र स्तरीय खेलाडीसँग अभ्यास गर्दा आफ्नो खेलको स्तर वृद्धि हुने विश्वास उनलाई छ। प्रशिक्षक गोविन्द यी दुई खेलाडीलाई मात्र प्रशिक्षण दिन विराटचोकबाट हरेक दिन इटहरी पुग्छन्। रोजन भन्छन्, ‘राम्रो गुरु पाएको भएर नै नतिजा पनि ल्याउन सकेँ।’

***

लेटाङमा जन्मिएका रोजन मोरङ सुन्दरहरैचाँ नगरपालिका वडा नम्बर–४ धुलाबारीमा बस्छन्। उनले कराँते खेल्न थालेको दशक नाघिसकेको छ। तर, खेल जीवनको सुरुवातमा कराँते खेलाडी बन्छु भन्ने उनले सोचेका थिएनन्। मध्यम परिवारका रोजन खेलाडी बन्छु भनेर यो क्षेत्रमा लागेका होइनन्। रहरले उनलाई खेलाडी बनायो। अबको गन्तव्य कहाँ हो भन्ने बारेमा उनलाई कुनै मेसो थिएन। 

बीबीएस तेस्रो वर्षमा अध्ययनरत रोजन सुरुवातका दिनमा उनी फुटबल खेल्थे। फुटबल खेल्न गएकै कारण उनले आमाको गाली र कुटाइ कति खाए कति।

‘त्यस्तै चल्दै थियो। समय त उनलाई अहिले याद छैन। तर, त्यो बेलामा धुलाबारीमा कराँते खेल भएको थियो। लेटाङबाट दिदीहरु धुलाबारीमा खेल्न आउनुभएको थियो। त्यो खेल हेर्ने मौका मैले पनि पाएँ, पुरानो दिन सम्झिँदै उनले भने, ‘त्यही खेल हेरेपछि मलाई पनि कराँते खेल्न मन लाग्यो। अनि फुटबल छाडेर कराँतेमा लागेँ। त्यो समय म २५ केजी तौल समूहमा खेल्थेँ।’ 

साँझ प्रशिक्षण गर्दै आएका रोजन बिहानमा भने कराँतेकै डोजो चलाउँछन्। उनको आम्दानीको स्रोत त्यही हो। त्यसले उनलाई कराँतेमा टिकाएको छ। ५५/६० बच्चाहरुबाट मासिक जनही ५ सय रुपैयाँ लिएर उनले कराँते सिकाउँदै आएका छन्। भन्छन्, ‘उनीहरुकै कारण पकेट खर्च जुट्छ र म पनि खेल्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .