ललित राजवंशीको घातक बलिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिस क्लबले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो।
पुलिस क्लबले पहिलो खेलमा बागमती प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
प्रदेश १ ले दिएको १ सय ३ रनको झिनो लक्ष्य पुलिस क्लबले १४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
दोस्रो विकेटका लागि शंकर राना र कुशल भुर्तेलले ६८ रनको साझेदारी गरेपछि पुलिसले सहज जित निकालेको हो। कुशलले ४२ रनको सर्वाधिक योगदान दिए। उनले २८ बलमा ५ चौका र ३ छक्का हाने। शंकर २९ रनमा रन आउट भए। ओपनर सुनिल धमला शुन्य रनमा आउट भए।
कप्तान दिपेन्द्र सिंह ऐरि १४ र रसिद खान १६ रनमा नटआउट रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १, ३५.१ ओभरमा १०२ रन बनाउँदा अलआउट भयो।
प्रदेश १ का लागि ओपनर निरज मुखिया २९, अंकित सुवेदीले २४ रन बनाए। विकेक आनन्द मेहताले १७ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
प्रदेश १ लाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले ५ विकेट झारे। उनले आफ्नो स्पेलमा ३ मेडन राख्दै २६ रन खर्चे। सागर ढकाल, दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए। रसिद खानले एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया