गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
सोमबार भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको हो। गण्डकी प्रदेशले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा १३९ रनमा समेटियो।
सुदूपश्चिमका लागि मिलन बोहोराले सर्वाधिक ५१ रनको योगदान दिए। ६४ बलको सामना गरेको मिलनले ३ चौका र १ छक्का हाने।
गजेन्द्र बोहोराले ३५ र वसन्त कार्कीले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न गण्डकीका विपिन खत्रीले ४ विकेट झारे। सुवास भण्डारी र अविशेख बस्नेतले समान २ तथा अमृत गुरुङ र कमल परियारले एक–एक विकेट लिए।
त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०८ रनको योगफल तयार पारेको थियो।
गण्डकीका लागि ओपनर अर्जुन कुमालले ६३ रनको सर्वाधिक योगदान दिए। १०५ बलको सामना गरेका अर्जुनले १० चौका हाने। समिर कडेलले २६, विधान श्रेष्ठ र अविनास बस्नेतले समान २५ रन थपे। सन्दीप क्षत्री १९ रनमा बोल्ड आउट भए। कप्तान विपिन खत्री र कमल परियारले समान १३ रन बनाए।
सुदूरपश्चिमका कैलाश ऐर, नारायण जोशी र शेर मल्लले समान २ विकेट झारे। नरेन साउदले एक विकेट लिए।
Shares
प्रतिक्रिया