पाकिस्तानसँग हुने मैत्रीपूर्ण फुटबलका लागि 'ए' डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवाललाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको बैठकले कटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइए पनि उनको पारिश्रमिकको टुङ्गो नलागेको एन्फा प्रवक्त सुरेश शाहले बताए।
नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी कार्तिक ३० गते पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।
पाकिस्तानले नेपालसँग २ अभ्यास खेलका लागि प्रस्ताव गरे पनि आफूहरुले अहिले एउटा मात्रै सम्भव रहेको जवाफ पठाएको प्रवक्ता शाहले बताए।
यसबारे पाकिस्तानले छिट्टै थप खबर पठाउने आशा एन्फाले गरेको छ।
नेपालले गत असोज ११ गते बगंलादेशसँग मैत्रीपूर्ण खेलेको थियो। जसमा नेपाल विजयी भएको थियो।
त्यसयता नेपाली टोलीले अभ्यास गरेको छैन। पकिस्तानको टोली अभ्यासमा व्यस्त छ।
Shares
प्रतिक्रिया