दिपेन्द्र सिंह ऐरिको अलराउण्ड प्रदर्शनमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो।
लुम्बिनीले दिएको १८९ रनको लक्ष्य पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरि ४३ र दिलीप नाथ ६ रनमा नटआउट रहे। ओपनर सुनिल धमाला ३६ र कुशल भुर्तेल ३२ रनमा पवेलियन फर्के। अमित श्रेष्ठ २८ रनमा एलबीडब्लु धरापमा रहे। आरिफ शेख ३५ रनमा क्याच आउट भए।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेश ४४.२ ओभरमा १८८ रनमा अलआउट भयो।
लुम्बिनीका कप्तान देख खनालले ७४ रन जोडे। उनले प्रतियोगितामा लगातार दोस्रो अर्धशतक पुरा गरे। विशाल विक्रम केसीले ३० र प्रज्वल थापाले २३ रन थपे।
दिपेन्द्र सिंह ऐरिले ४ विकेट लिए।
Shares
प्रतिक्रिया