प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेल बराबरी भएको छ।
खेल बराबरी भएसँगै दुवै टोलीले एक एक अंक बाँडे। योसँगै सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी ३१ ओभरमा १ सय १५ रन बनाउँदा अलआउट भयो।
गण्डकीका लागि अभिषेक बस्नेतले २४ तथा अर्जुन कुमालले १८ रन बनाए। कप्तान विपिन खत्री १७ रनमा पवेलियन फर्के। कमल परियाले ११ रन थपे।
एपीएफका लागि मौसम ढकाल र किशोर महतोले समान ४ विकेट लिए। भुवन कार्कीले २ विकेट झारे।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफ ३५.१ ओभरमा १ सय १५ रनमा अलआउट भयो। समयमा नै खेल सुरु हुन नसकेपछि ४३ ओभरमा छोट्टाईएको थियो। एपिएफका लागि भुवन कार्की २४ रनमा नटआउट रहे।
लोकेश बम २२, पुरन विक २३, सन्दीप जोरा २२ र अमरसिंह राउटेला १३ रनमा पवेलियन फर्के।
गण्डकीका लागि अर्जुन कुमाल र अमृत गुरुङले समान ३ विकेट लिए। सुवास भण्डारीले २ विकेट लिए।
आजै भएको अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई १ सय ६९ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो।
लगातार तेस्रो खेलमा हार व्यहोरेको सुदूरपश्चिम प्रदेश भने समूह चरणबाटै बाहिरिएको छ।
प्रतिक्रिया