स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले अल्मारियामाथि २–० गोल अन्तरको जित हात पारेको छ। शनिबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा औस्माने डेम्बेले र फ्रान्की डि जोङले १/१ गोल गरेका थिए।
यससँगै बार्सिलोना १३ खेलबाट ३४ अंकका साथ लिगको शीर्षस्थानमा फर्किएको छ। एक खेल कम खेलेको रियलले ३२ अंक हात पारेको छ।
शनिबारको खेल बार्सिलोनाको लागि क्याम्प नोउमा जेरार्ड पिकेको अन्तिम खेल हो।
उनले यसअघि नै मंगलबारको ओसासुनासँगको खेलबाट आफूले सन्यास लिने बताइसकेका छन्। यद्यपि उनले उक्त खेल खेल्छन् वा खेल्दैनन् भन्ने निश्चित भने छैन।
अन्यथा शनिबारको खेल नै बार्सिलोनाको लागि उनको अन्तिम खेल हुन सक्छ। खेलपछि प्रतिक्रिया दिँदै पिकेले आफू बार्सिलोनामै जन्मिएको र यही सहरमा मर्ने इच्छा रहेको बताएका थिए।
उनले उमेर बढ्दै गएपछि कुनै समयमा मानिसलाई अब आफूले अरुलाई ठाउँ दिनुपर्छ भन्ने लाग्ने र सोही कारण आफूले पनि नयाँलाई स्थान छाडे पनि आफू भविष्यमा कुनै न कुनै रुपमा बार्सिलोनामा रहन सक्ने बताएका छन्।
Shares
प्रतिक्रिया