ad ad

खेल


विश्वकप सेमिफाइनल : सधैं हाबी भारतलाई इङ्ल्याण्डको लय बन्न सक्छ चुनौती

विश्वकप सेमिफाइनल : सधैं हाबी भारतलाई इङ्ल्याण्डको लय बन्न सक्छ चुनौती

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार ११:४७, काठमाडौँ

अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत  दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ।

अष्ट्रेलियाको एडिलेडस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

अहिलेसम्म भारत र इंग्ल्याण्डले समान एकपटक टी२० विश्वकपको उपाधि जितेका छन्। 

भारत समूह 'बी'को विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो भने इंग्ल्याण्ड समूह 'ए'को उपविजेता हो।

यी दुवै टोलीले समूह चरणको एक/एक खेल हारेका छन्। भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने इंग्ल्याण्ड आयरल्याण्डसँग हारेको थियो। 

बिहीबारको खेलमा जित हात पार्ने टोलीले आइतबार हुने फाइनलमा पाकिस्तानसँग खेल्नेछ। 

इंग्ल्याण्ड 
यसपटकको विश्वकपमा इंग्ल्याण्डको टोली सन्तुलित र लयमा पनि देखिएको छ। यस्तो अवस्थामा इंग्ल्याण्डलाई हराउनु भारतको लागि पक्कै पनि सजिलो हुनेछैन।

महत्वपूर्ण खेलमा दबाब झेल्न नसक्ने भारतको समस्या देखिँदै आएको छ। आईसीसीका प्रतियोगितामा मात्र नभई केही द्विपक्षीय सिरिजमा पनि भारतको टोलीमा यो समस्या देखिने गरेको छ। मनौवैज्ञानिक दबाब झेल्ने मामिलामा इंग्ल्याण्ड भारतभन्दा केही अगाडि रहने गरेको छ।

बिहीबारको खेलमा इंग्ल्याण्डको राम्रो ब्याटिङ लाइन अप पनि उसको सबल पक्ष हो। पछिल्ला खेलमा ओपनरद्वय जोस बटलर र एलेक्स हल्सले राम्रो प्रदर्शन गर्दै आएका छन्।

त्यस्तै बेन स्टोक्सले पनि ब्याटिङमा राम्रो योगदान दिँदै आएका छन्। त्यस्ते लियम लिभिङस्टोन, मोइन अली र ह्यारी ब्रूकले मध्यक्रमको ब्याटिङलाई सम्हाल्दै आएका छन्। साम करन र क्रिस वेक्सले पनि स्कोर उकास्ने मामिलामा केही योगदान दिन सक्छन्। 

बिहीबारको खेलमा भारतीय टोलीका केही कमजोरीलाई चिन्न सकेको खण्डमा इंग्ल्याण्ड फाइनलमा पुग्न सक्छ। भारतीय कप्तान रोहित शर्माले यो विश्वकपमा केवल ८९ रन बनाएका छन्। त्यस्तै केएल राहुल पनि रन बनाउन संघर्ष गरिरहेका छन्।

भारतीय टोलीको ब्याटिङ विराट कोहली र सूर्यकुमार यादवमा निर्भर देखिएको छ। त्यस्तै हार्दिक पाण्ड्याका साथै दिनेश कार्तिक र रिषभ पन्तले पनि खासै प्रभाव देखाउन सकेका छैनन्। जसको फाइदा उठाउन सकेको खण्डमा इंग्ल्याण्डले फाइनलमा आफ्नो स्थान बनाउन सक्छ।

भारत 
समूहको शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको भारत बिहीबार उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ। बिहीबारको खेलमा इंग्ल्याण्डलाई पाखा लगाउँदै फाइनल हाइ प्रोफाइलको बनाउने योजनामा भारत छ। 

भारतका लागि यो विश्वकपमा देखिएको सबल पक्ष उसका मुख्य खेलाडी लयमा रहनु हो। भारतको टोलीका मुख्य खेलाडीको रुपमा रहेका सूर्यकुमार यादव र विराट कोहलीले टोलीको लागि महत्वपूर्ण योगदान दिँदै आएका छन्। पावरप्ले र स्पिन बलिङमा केही समस्या देखिए पनि टोलीले समग्रमा राम्रो योगफल बनाउँदै आएको छ। 

त्यस्तै भारतका भुवनेश्वर कुमार, मोहम्मद शमी र अर्शदीप सिंहले बलिङमा निकै राम्रो प्रदर्शन गरिरहेका छन्। जुन, इंग्ल्याण्डको ब्याटिङको लागि टाउको दुखाइ बन्न सक्छ।

इंग्ल्याण्डका बलर मार्क वुड र डेभिड मलान घाइते छन्। उनीहरु बिहीबारको खेलमा सामेल हुने सम्भावना कम छ। त्यसको फाइदा भारतलाई पुग्न सक्छ।

इंग्ल्याण्डविरुद्ध भारतको यसअघिको प्रदर्शनको आधारमा पनि बिहीबारको खेलमा भारत हाबी हुन सक्ने सम्भावना छ। यी दुई टोलीबीच टी२० विश्वकपमा सन् २०१२ यता प्रतिस्पर्धा नभए पनि द्विपक्षीय सिरिजमा भने भारत हाबी हुँदै आएको छ।

भारतले इंग्ल्याण्डविरुद्धको पछिल्लो चार टी२० सिरिजमा जित हात पारेको छ। जसमध्ये दुई सिरिज होम र दुई अवे मैदानमा जित हात पारेको थियो।

पछिल्लो पाँच टी२० खेलमध्ये भारतले चार खेलमा इंग्ल्याण्डलाई हराएको छ। इंग्ल्याण्डमाथि भारतको जितको अन्तर पनि फराकिलो रहँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .