विश्वकप फुटवल अघिको अन्तिम खेलमा पेरिस सेन्ट जर्मनले शानदार जित दर्ता गरेको छ। फ्रेन्स लिग–१ को १५ औं चरणको खेलमा आइतबार साँझ पीएसजीले एक्जेरेलाई ५–० ले पराजित गरेको हो।
घरेलु मैदानमा पीएसजीका ५ खेलाडीले गोल गरे। खेलभर अक्जेरेमाथि पीएसजी पुरै हाबी भयो। प्रमुख खेलाडी लियोनल मेसी, नेयमार र एम्बाप्पेसहित मैदान उत्रिएको पीएसजीले ११ औं मिनेटमा अग्रता लिएको थियो। नुनो मेन्डीको पासमा एम्बाप्पेले गोल गरे।
पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप ४ गोल गर्यो। दोस्रो हाफमा भने उसका प्रमुख स्टारले गोल गर्न सकेनन्। मेन्डीकै पासमा कार्लोस सोलेरले अग्रता दोब्बर बनाउँदा त्यसको ५ मिनेटपछि हाकिमीले अर्को गोल थपे। सोलेरको पासमा उनले गोल गरेका थिए।
३–० को अग्रता लिएपछि पीएसजीका प्रशिक्षक गाल्टियरले आफ्ना प्रमुख खेलाडीलाई विश्वकपका मुखमा सुरक्षित गरिदिए। ७५ औं मिनेटमा मेसी, नेइमार, सर्जिओ रामोस र सोलेरलाई परिवर्तन गर्दै उनीहरुको स्थानमा अन्यलाई पठाए।
सोलेरको स्थानमा ६१ औं मिनेटमा मैदान प्रवेश गरेका रेनाटो सान्चेजले ८१ औं मिनेटमा गोल गरे। सान्चेजको गोलमा पास दिएका इकिटिकेले ८४ औं मिनेटमा अक्जेरेका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदा पीएसजीले ५–० को जित हात पार्यो। १५ औं चरणका खेलसम्म अपराजित पीएसजीले ४१ अंक जोडेको छ। उ दोस्रो स्थानको लेन्सभन्दा ५ अंकले अगाडी छ।
यो खेलसँगै विश्वकप खेल्ने आफ्ना खेलाडीलाई पीएसजीले बिदा दिनेछ। बाँकी खेल विश्वकप पछि हुनेछन्।
Shares
प्रतिक्रिया