ad ad

खेल


स्पट फिक्सिङ प्रकरण : क्रिकेटर मेहबुब आलम र अदिल अन्सारी पक्राउ, काठमाडौं ल्याइँदै

स्पट फिक्सिङ प्रकरण : क्रिकेटर मेहबुब आलम र अदिल अन्सारी पक्राउ, काठमाडौं ल्याइँदै

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०७९ सोमबार १४:३४, काठमाडौँ

एक साताअघि सम्पन्न नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन्।

पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो। 

क्रिकेटर मेहबुब मोरङबाट पक्राउ परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

'मेहबुब पक्राउ परेका छन्। उनलाई अहिले जिप्रकामा राखेका छौँ', मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले नेपालखबरसँग भने, 'उनलाई सीआईबीको आग्रह अनुसार काठमाडौं पठाउने तयारी गरेका छौँ।'

त्यस्तै आदिललाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। उनलाई पनि काठमाडौं पठाउन लागिएको एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन्। 

नेपाल टी२० लिगमा आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। स्पट फिक्सिङको आशंका गरेपछि जनकपुरले आदिललाई खेलबाट बाहिर राखेको थियो। 

नेपाल टी २० लिग चलिरहँदा स्पट फिक्सिङकाे आरोपमा सीआइबीले अनुसन्धान गरिरहेको थियो।

सीआईबीले यसअघि नै म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) सँग पनि जवाफ मागेको थियो।

क्यान ध्यक्ष चतुरबहादुर चन्द र पूर्व कप्तान तथा म्यानेजर विनोद दाससँग सीआईबीले साेधपुछ गरेकाे थियाे। अध्यक्ष चन्दले फिक्सिङबारे आवश्यक अनुसन्धान गरिदिन भन्दै सीआईबीमा निवेदन पनि दिएका थिए। सीआईबीले अन्य पदाधिकारी र खेलाडीलाई पनि सोधपुछका लागि बोलाएको थियो। 

नेपाल टी २० लिग चलिरहेका बेला खेलाडीहरुले फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए। क्यानले लिग सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससलाई दिएको थियाे। 

यो कम्पनीले भारतमा बेटिङ समेत खेलाउने गरेको छ। त्रिविमा खेल सञ्चालन भइरहँदा पनि बेटिङ खेलाइरहेको अवस्थामा केही व्यक्ति पक्राउ परेका थिए। त्यसपछि खेलाडीकेन्द्रित अनुसन्धान सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .