ad ad

खेल


करातेकी स्टार ‘एरिका’, जसको मेहनतले दिलायो एकै वर्षमा दुई ऐतिहासिक पदक

भन्छिन्– फाइनलमा बेहोरेको हारले अझै प्रोत्साहन मिलेको छ
करातेकी स्टार ‘एरिका’, जसको मेहनतले दिलायो एकै वर्षमा दुई ऐतिहासिक पदक

लक्ष्मी जि.सी
असोज ८, २०८१ मंगलबार १४:५२, काठमाडौँ

करातेकी स्टार एरिका गुरुङलाई सधैँ लागिरहन्थ्यो, ‘एउटै विषयमा केन्द्रित भएर मेहनत गर्दा चम्कने दिन आउँछ।’

झण्डै एक वर्षअघि नेपालखबरसँगको कुराकानीका क्रममा उनले यही विषय बताएकी थिइन्। ‘चम्किने दिन’ को खोजीमा रहेकी एरिका आज (मंगलबार) ऐतिहासिक पदकसहित नेपाल फर्किएकी छिन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। 

एक वर्षको अन्तरालमा एरिसकाले दुईवटा ऐतिहासिक पदक हात पारेकी छिन्। अर्को ऐतिहासिक रजत पदक जित्दै नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याएकी एरिका यसपटक चोटका कारण स्वर्ण जित्ने आफ्नो लक्ष्य सम्भव नभएको बताउँछिन्। 

गत वर्षको असोज अन्तिम साता चीनको हाङझाओमा सम्पन्न एसियाली खेलकुदको महाकुम्भ ‘एसियन गेम्स’मा पनि एरिसकाले रजत पदक नै जितेकी थिइन्। 

अहिले त्यसको ठ्याक्कै १ वर्षपछि चीनको हाङझाओमै सम्पन्न २० औँ सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक हात पारिन्।

मंगलबार स्वदेश फर्किएपछि एरिकाले घुँडामा चोटका कारण फाइनल खेलमा समस्या भएको जानकारी गराएकी छिन्। 

‘लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै राम्रो थिए, फाइनलमा ब्यहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको छ,’ उनले भनिन्।

एरिकालाई यसपटक पनि त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षको जस्तै भव्य स्वागत गरियो। 

एसियन कराते फाउन्डेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले पहिलो पटक पदक जितेको हो। त्यो पनि एरिकाले नै नेपाललाई दिलाइन्। 

च्याम्पियनसिपको स्वर्णका लागि स्पर्धामा एरिका भियतनामकी एनगोवान नुगेनसँग ६–० ले पराजित हुँदै रजत पदकमा सिमित बनिन्।

फाइनलमा पराजित भएपनि एरिकाले नेपाललाई ऐतिहासिक पदक भने दिलाएरै छाडिन्।

करातेका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपटक सिनियर एशियन च्याम्पियनसिपमा जितेको पदक सबै नेपालीलाई समर्पित गरे। 

चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको प्रशिक्षक श्रेष्ठको भनाइ छ। 

गत वर्ष भएको १९ औँ एसियाडमा एरिकाले करातेका लागि पहिलो रजत पदक आफ्नो नाममा गरेकी थिइन्। 

एसियाड इतिहासमा नेपालका लागि एरिकाले २५ वर्षपछि व्यक्तीगत स्पर्धामा पदक जितेकी थिइन्।

सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। त्यसयता नेपाल व्यक्तीगत स्पर्धामा रजत पदकविहीन थियो।

सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा एसियाडमा प्रर्दशनी खेलतर्फ प्याराग्लाइडिङले रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो। 

नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी एरिकाले एसियाडको पहिलो सहभागितामा नै नेपाललाई रजत पदक दिलाएकी थिइन्। 

एरिकाले कराते खेल्न थालेको एक दशक भयो। यो एक दशकमा उनीसँग ऐतिहासिक दुई रजत पदकसँगै थुप्रै स्वर्ण र कास्य पदकहरू छन्। 

१० वर्षअघि मनमैजु डोजोमा भर्ना भएकी एरिकाले अन्य खेलाडीले भन्दा आफूले छिटो सफलता पाएको अनुभव गर्छिन्। ‘मैले मेहनत पनि धेरै गरेको छु नी,’ उनी भन्छिन्।

मनमैजु डोजोबाट नेपाल पुलिस क्लब पुगेकी एरिका त्यहाँबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म एरिका पुगिन्।

जहाँ उनले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन कीर्तिमानी प्रर्दशन गरिरहेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .