शनिबारदेखि सुरु हुने केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पुरस्कार रकममा वृद्धी गरिएको छ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुँदै आएको भलिबल प्रतियोगिताको छैटौँ सस्करणको विजेताले ३ लाख रुपैयाँ पाउने भएको छ।
यसअघि विजेताले २ लाख रुपैयाँ पाउँदै आएका थिए। प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फका विजेताले जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए। उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताका दौरान एक् जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित स्पेशल अवार्डबाट सम्मान गरिनेछ।
प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस् एकेडेमी, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट क्लब गरि ६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ।
प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगितालाई नेरोल्याक पेन्ट्सले मुख्य प्रायोजन गरेको छ। प्रायोजन सम्झौतामा आजै हस्ताक्षर भएको छ। सम्झौता पत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र नेरोल्याक पेन्ट्सका कन्ट्री हेड मनोज कुमार मिश्रले हस्ताक्षर गरे।
प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।
Shares
प्रतिक्रिया