विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यू डायमण्ड स्पोर्टस् एकेडेमीले केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।
डायमण्ड र एपीएफले लगातार दोस्रो जित निकाल्दा पुलिस क्लब र त्रिभुवन आर्मी भने जितविहीन छन्। लगातार दोस्रो जित निकालेका डायमण्ड र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आइतबार भएको दोस्रो खेलमा डायमण्डले पुलिस क्लबलाई ३–१ को सेटमा हराएको हो।
पहिलो सेटमा २५–२२ ले गुमाएको डायमण्डले त्यसपछिको तिन सेट लगातार आफ्नो पक्षमा पारेको हो।
दोस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको डायमण्डले तेस्रो सेटमा पुलिस क्लबलाई २५–२२ ले हरायो। चौथो सेटमा पुलिसलाई २५–१९ ले हराउँदै डायमण्डले लगातार दोस्रो जित निकालेको हो।
डायमण्डकी प्रतिभा माली खेलको प्लेयर अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरिन्।
डायमण्डले पहिलो खेलमा शनिबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० कै सोझो सेटमा पाखा लगाएको थियो।
आजै भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० कै सोझो सेटमा हराएको थियो।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ३ विभागीय र न्यु डायमण्ड स्पोर्टस् क्लब गरि ४ टोली सहभागी छन्।
शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
विधागततर्फका विजेताले जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन्। उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।
Shares
प्रतिक्रिया