कीर्तिपुरमा बिहीबारदेखि सुरु हुने लिग २ को अन्तिम त्री देशिय सिरिजका लागि सन्दीप जोरा र श्याम ढकाललाई बाहिर राख्दै टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार साँझ घोषणा गरेको टोलीमा यसअघि युएई गएका जोरा र ढकालबिनै टोली घोषणा गरेको हो।
एक खेलपछि सन्दीप लामिछाने युएईपुगेपछि ढकाललाई टोलीबाहिर राखिएको थियो भने जोरा टिममा भएपनि मौका पाएका थिएनन्। युएईमा मौका नपाएका ललित राजवंशी पनि टोलीमा समेटिएका छन्।
१४ सदस्यीय टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिस जिसी समेटिएका छन्।
यस्तै कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, भीम सार्की र ललित राजवंशी पनि टोलीमा समेटिएको छ।
लिग २ अन्तरगत अब नेपालले बिहीबार र सोमबार पपुवा न्युगिनीसँग तथा आइतबार र बिहीबार युएईसँग खेल्नेछ।
यी चारवटै खेलमा विजयी भएमा नेपाल विश्वकप छनौटमा पुग्नेछ।
अन्तिम टोलीमा नसमेटिएका सन्दीप जोरा र श्याम ढकालसँगै कमलसिंह ऐरी र अर्जुन साउदलाई रिजर्भ खेलाडीका रुपमा राखिएको क्यानले जनाएको छ।
Shares
प्रतिक्रिया