खेल


‘कोशी प्रदेश’ नलेखेपछि प्रदेश खेलकुद विकास बोर्डसँग स्पष्टीकरण, बैंक खाता पनि रोक्का

‘कोशी प्रदेश’ नलेखेपछि प्रदेश खेलकुद विकास बोर्डसँग स्पष्टीकरण, बैंक खाता पनि रोक्का

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १७:५२, काठमाडौँ

कोशी प्रदेश सरकारले त्यहाँको खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेसँग स्पष्टीकरण सोधेको छ। 

कोशीस्थित सामाजिक विकास मन्त्रालयले यही वैशाख १७ गते वाग्लेलाई ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो।

वाग्लेले यही वैशाख १४ देखि १६ सम्म झापाको दमकमा भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा ‘कोशी प्रदेश’ नलेखी फ्लेक्स र ब्यानर लगायत सामाग्री प्रयोग गरेको आरोप छ।

उनले कोशी प्रदेश सरकार, कोशी प्रदेशको नामसमेत उल्लेख नगरी प्रतियोगिता गराएको आरोपमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो।

‘प्रदेश खेलकुद ऐन २०७६ को दफा १२ को उपदफा १(ख)बमोजिम प्रदेश खेलकुद विकास बोर्डबाट भएका निर्णय कार्यान्वयन गर्ने गराउने र खण्ड (च) बमोजिम बोर्डको कार्य सञ्चालनमा अनुशासन र पारदर्शिता कायम गर्ने कानुनी कर्तव्यविपरीत प्रदेश सरकार र प्रदेशको नाम उल्लेख नगरी प्रतियोगिता सञ्चालन गर्नुको चित्तबुझ्दो स्पष्टीकरण ७ दिनभित्र पेश गर्नुहुन माननीय मन्त्रिस्तरको निर्णयअनुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले प्रदेशको स्थायी नाम कोशी कायम गरेपछि त्यहाँ आन्दोलन छ। पहिचानवादीको आन्दोलनका क्रममा कोशी प्रदेश लेखिएका बोर्ड र ब्यानरसमेत हटाइने गरिएको छ।

पहिचानवादीको डरका कारण वाग्लेले कोशी नलेखी उक्त खेलकुद प्रतियोगिता गराएपछि प्रदेश सरकार आक्रोशित भएको हो। 
बैंक खाता रोक्का
मन्त्रालयले यस प्रकरणमा खेलकुद विकास समितिको खाता पनि रोक्का गरिदिएको छ।

मन्त्रालयले विराटनगरस्थित प्रभु बैंकको शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का राख्न भनेको हो। 

मन्त्रालयले गत वैशाख १८ गते बैंकलाई पत्र लेख्दै खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न भनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .