साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पाखा लगाएको हो। मछिन्द्रको जितमा ओलावाले ओलाडिपो अफिजले दुई तथा आन्द्रेस नियाले एक गोल गरे।
खेलको ४२औं मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए। ओलावालेले दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई नियाले उत्कृष्ट फिनिसिङ दिए।
खेलको ७७औं मिनेटमा ओलावालेको गोलमा मछिन्द्रले अग्रता दोब्बर पार्यो। खेलको ८३औं मिनेटमा ओलावाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए।
जितसँगै तेस्रो स्थानमा रहेको मछिन्द्रको १८ खेलबाट ३० अंक जोडेको छ। समान ३० अंक नै भएपनि एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड हेड टु हेडमा दोस्रो स्थानमा छ।
प्रतिक्रिया