नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)को शानदार प्रर्दशनमा गोकुलम केरला एफसीले भारतीय महिला लिग (आईडब्लूएल) को उपाधिमा ह्याट्रिक गरेको छ।
आइतबार साँझ सम्पन्न फाइनलमा साम्बाको टोली गोकुलमले नेपाली टोलीकै मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसीलाई ५–० को फराकिलो अन्तरले पाखा लगाउँदै लगातार तेस्रो पटक उपाधि उचालेको हो।
सरु र रेनुकाले आईडब्लूएलको पहिलो सहभागितामा नै किकस्टारलाई उपविजेता बनाउन सफल भए।
खेलको पाँचौँ मिनेटमा साम्बाको गोलमा गोकुलमले सुरुवाती अग्रता बनाएको थियो। मैदानको मध्यभागबाट साम्बाले गरेको सशक्त प्रहारलाई किकस्टारकी गोलरक्षकले रोक्ने कुनै मौका पाइनन्।
खेलको २२ औँ मिनेटमा सन्ध्या रंगनानाथको गोलमा गोकुलमले अग्रता दोब्बर पार्यो। खेलको ३५ औँ मिनेटमा किकस्टारकी खेलाडीले पेनाल्टी एरियामा ह्याण्ड बल भएपछि गोकुलमले पेनाल्टी अवसर पाएको थियो। जुन मौकालाई सन्ध्याले सदुपयोग गर्दै गोकुमललाई ३–० को अग्रता दिलाइन्।
पहिलो हाफमा ३–० को अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा २ गोल थप्यो।
खेलको ५३ औँ मिनेटमा साम्बाको क्रसमा सन्ध्याले गोल गर्दै ४–० को फराकिलो अग्रता बनायो। खेलको ८१ औँ मिनेटमा साम्बाको क्रसमा रोजादेवीले गोल गर्दै गोकुलमलाई ५–० को अवस्थामा ल्याइन्।
गोकुलमले यसअघि सन् २०१९–२० र २०२१–२२ मा लगातार उपाधि जितेको थियो। सन् २०२०–२१ मा भने कोभिड १९ को कारण आईडब्लूएल हुन सकेन। साम्बाले घुँडाको चोटका कारण सन् २०२१–२२ को सिजन गुमाएकी थिइन्।
तेस्रो पटक आईडब्लूएल खेलिरहेकी साम्बाले तीनै सिजन क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलिन्। सन् २०१९–२० मा सेथु एफसी छाड्दै गोकुलम पुगेकी साम्बाले १६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन्।
यो सिजन गोकुलमलाई उपाधि दिलाउन साम्बाले २९ गोल गरिन्। साम्बा लिगको सर्वाधिक गोलकर्ता समेत हुन्।
साम्बाले लगातार दोस्रो सिजन गोकुलमबाट उपाधि उचालेकी हुन्। त्यसअघि साम्बाले सन् २०१८–१९ मा सेथुलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
Shares
प्रतिक्रिया