कप्तान विक्रम लामाको पेनाल्टीमा थ्रीस्टार क्लब शहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको छ।
खेलको ८३ औं मिनेटमा कप्तान लामाको पेनाल्टीमा थ्रीस्टार ए डिभिजनमा नै रहेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार अर्को वर्षका लागि ए डिभिजनमा नै रहेको हो।
आजको खेलमा बराबरी या हारको नतिजाले पनि थ्रीस्टार बी डिभिजनमा घटुवा हुने थियो। थ्रीस्टार रेगिलेसनबाट बचेपछि एपीएफ क्लब भने बी डिभिजनमा घटुवा भएको छ।
खेलको ८२ औं मिनेटमा कप्तान विक्रम लामालाई पेनाल्टी एरियामा जावलाखेलका क्रमिन श्रेष्ठले अजावश्यक फउल गरेपछि थ्रीस्टारले पेनाल्टी अवसर पाएको थियो।
खेलमा थ्रीस्टारले गोल गर्ने थुप्रै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। जितसँगैै थ्रीस्टार नवौ स्थानमा रहेर लिग सकाएको छ। थ्रीस्टारले सात खेलमा जित, ११ बराबरी र ८ खेलमा हार व्यहोरेको छ।
हारसँगै जावलाखेलले चौथो स्थानमा रहेर लिग यात्रा अन्त्य गरेको छ। जावलाखेलले १० खेलमा जित, ७ खेलमा बराबरी र ९ खेलमा हार भोगेको छ।
चार पटकको लिग च्याम्पियन थ्रीस्टार क्लबले २०३९ सालमा ए डिभिजन यात्रा सुरु गरेको थियो। थ्रीस्टारले सन् १९९७, १९९८, २००४ र २०१२–१३ मा लिगको उपाधि उचालेको थियो।
Shares
प्रतिक्रिया