शहिद स्मारक ए डिभिजन लिगको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले हात पारेको छ। उपाधिसँगै चर्च ब्वाइजले ७५ लाख नगद हात पारेको छ।
मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको हो।
यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि उचालेको थियो। घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो।
चर्च ब्वाइज अघिल्लो सिजन बी डिभिजन लिग च्याम्पियन हुँदै ए डिभिजनमा उक्लिएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र क्लब दोस्रो भएको छ भने नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ।
दोस्रो हुने मच्छिन्द्रले ५० लाख नगद र नेपाल पुलिस क्लबले २५ लाख नगद हात पारेको छ। त्यस्तै फेयर प्ले अवार्ड पनि पुलिस क्लबले हात पारेको छ।
Shares
प्रतिक्रिया