ad ad

खेल


यी ११ फुटबलर : जसले एकै सिजन विश्वकप र च्याम्पियन्स लिगको उपाधि जिते

यी ११ फुटबलर : जसले एकै सिजन विश्वकप र च्याम्पियन्स लिगको उपाधि जिते

नेपालखबर
जेठ २९, २०८० सोमबार १२:१७, काठमाडौँ

सिजन २०२२/२३ को फुटबलको सरगर्मीले अब विश्राम लिएको छ। इङ्लिस क्लब म्यानचेस्टर सिटीले पहिलो पटक शनिबार राति टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको उपाधि जितेसँगै यो सिजनको फुटबलले विश्राम लिएको हो।

अब क्लबहरुका लागि समर ट्रान्सफर विन्डो सुरु हुनेछ। अर्कातिर यसबीचमा विभिन्न देशका मैत्री र महादेशस्तरीय प्रतियोगिताका लागि छनोट खेल अघि बढ्नेछन्।

जुलियन अल्भारेज
म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्दै गर्दा अर्जेन्टिनी स्टार जुलियन अल्भारेजका नाममा विभिन्न कीर्तिमान बनेका छन्।

तीमध्ये एउटा कीर्तिमान हो, उनी एकै सिजनमा विश्वकप फुटबलको उपाधि र युरोपेली च्याम्पियन्स लिग जित्ने ११ औँ खेलाडी भएका छन्।

कतार विश्वकपमा चार गोल गर्दै अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका उनले च्याम्पियन्स लिगको सेमिफाइनलमा मैदान छिरेको १ मिनेटमै रियल मड्रिडविरुद्ध गोल गरेर झन् चर्चा कमाएका थिए।

यस्तोमा उनले सिजन २०२२/२३ भित्र कतारमा भएको विश्वकप अर्जेन्टिनाबाट जितेका छन् भने म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिगको उपाधि पनि चुमेका छन्। सिटी र अल्भारेजका लागि यो च्याम्पियन्स लिगको पहिलो उपाधि हो। 

राफायल भाराने
एकै सिजन च्याम्पियन्स लिग र विश्वकप फुटबलको उपाधि चुम्ने अर्का खेलाडी हुन् फ्रान्सका राफायल भाराने। जसले सन् २०१७/१८ को सिजनमा फ्रान्सबाट रसियामा भएको विश्वकप फुटबलको उपाधि चुमे। 

फ्रान्सले त्यसबेला क्रोएसियालाई हराउँदै विश्वकप चुम्न सफल भएको थियो। त्यही वर्ष सेन्टर ब्याकमा खेल्ने उनले रियल मड्रिडबाट च्याम्पियन्स लिगको उपाधि पनि जित्न सफल भए। त्यसबेलाको फाइनल भिडन्तमा रियल मड्रिडले इङ्लिस क्लब लिभरपुललाई ३-१ गोलअन्तरले हराएको थियो।

सामी खेदिरा 
जर्मनीका सेन्ट्र मिडफिल्डर सामी खेदिराले २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलको उपाधि जितेका थिए।

१ जुलाई २०१४ मा उपाधि दाबेदार अर्जेन्टिनालाई १-० गोलले हराएर जर्मनीले उपाधि चुम्दा खेदिरा महत्वपूर्ण सदस्य थिए।

त्यसअघि मे २४ मा पोर्चुगलको लिस्बनमा भएको च्याम्पियन्स लिगको फाइनल भिडन्तमा घरेलु प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई हराउँदा खेदिरा रियल मड्रिडबाट मैदानमा थिए। 

खेदिरासहितको रियल मड्रिडले त्यसबेलाको फाइनल भिडन्तमा एट्लेटिकोलाई ४-१ गोलको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको थियो।

रोबर्टो कार्लोस
एकै सिजन विश्वकप र च्याम्पियन्स लिग जित्ने अर्का फुटबलरमा ब्राजिलियन लिजेन्ड रोबर्टो कार्लोस पनि हुन्। 

उनले २००२ को एकै सिजनमा विश्वकप र च्याम्पियन्स लिगको उपाधि चुमेका थिए। 

१५ मे २००२ मा स्कटल्यान्डमा भएको फाइनल भिडन्तमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बायर लेभरकुसेनलाई २-१ ले हराउँदै उपाधि चुमेको थियो। 

उनले रियल मड्रिडबाट लेफ्ट ब्याक र डिफेन्सिप मिडफिल्डरका रुपमा खेलेका थिए। रियलबाट च्याम्पियन्स लिगको उपाधि चुमेको एक महिनापछि नै उनले ब्राजिलबाट विश्वकप उपाधि जिते।

जापनको योकोहामा स्टेडियममा भएको फाइनल भिडन्तमा ब्राजिलले जर्मनीलाई २-० गोलले हराउँदै उपाधि चुम्दा कार्लोस महत्वपूर्ण सदस्य थिए। 

क्रिस्टियन कारेम्बयु
फ्रान्सका डिफेन्सिप मिडफिल्डर हुन् क्रिस्टियन कारेम्बयु। जसले सन् १९९८ को एकै सिजनमा च्याम्पियन्स लिग र विश्वकपको उपाधि चुमे।

उनले सन् १९९८ मे २० मा नेदरल्यान्ड्सको आम्टर्डममा भएको च्याम्पियन्स लिगको फाइनल भिडन्तमा रियल मड्रिडबाट खेलेका थिए।

इटालियन क्लब युभेन्ट्सलाई रियल मड्रिडले १-० गोलले हराउँदा उनी डिफेन्सिप मिडफिल्डरका रूपमा मैदानमा थिए।

त्यसपछि उनले घरेलु मैदानमै त्यही सिजन भएको विश्वकपको उपाधि पनि चुमे। १२ जुलाई १९९८ मा भएको फाइनल भिडन्तमा फ्रान्सले ब्राजिललाई ३-० गोलअन्तरले हराउँदै उपाधि चुम्दान क्रिस्टियन पनि टोलीका सदस्य थिए। उनको नाममा पनि एकै सिजन यी दुई ठूला उपाधि चुमेको रेकर्ड छ।

पश्चिम जर्मनीका ६ फुटबलर 
युली होइन्नेसले सन् १९७४ को एकै सिजनमा पश्चिम जर्मनीबाट विश्वकप फुटबल र बायर्न म्युनिखबाट च्याम्पियन्स लिगको उपाधि चुमेका थिए।

त्यसबेला अहिलेको च्याम्पियन्स लिगलाई युरोपियन कप भनिन्थ्यो। तर सन् १९९२ मा नाम फेरेर च्याम्पियन्स लिग राखिएको हो। 

सन् १९७४ जुलाई ७ मा ब्रसेल्समा भएको फाइनल भिडन्तमा वेस्ट जर्मनीले नेदरल्यान्डसलाई २-१ गोलअन्तरले हराउँदै विश्वकप जितेको थियो।

सिजन १९७३/७४ को युरोपियन कपको फाइनल भिडन्तमा बायर्न म्युनिखले एट्लेटिको मड्रिडलाई ४-० ले हराउँदा होइन्नेस टोलीका सदस्य थिए।

त्यही सिजनको युरोपियन कप र विश्वकप जित्ने खेलाडीहरुमा फ्रान्ज बेकेन्बाउर र गर्ड मुलर पनि हुन्। युली होइन्नेससँगै उनीहरुले पनि बायर्न म्युनिखका लागि युरोपियन कप र पश्चिम जर्मनीका लागि विश्वकप एकै सिजनमा जिते।

यो सूचीमा सन् १०७४ कै सिजनमा विश्वकप र युरोपियन कपको उपाधि जित्ने खेलाडी हुन् हान्स-जर्ज श्वार्जेनबेक। उनले पनि अरु खेलाडीसँगै सन् १९७४ को विश्वकप पश्चिम जर्मनीबाट र बायर्नबाट युरोपियन कप जित्न सफल भए।

त्यसैगरी सन् १०७४ को एकै सिजनमा विश्वकप र युरोपिययन कप जित्ने अन्य दुई खेलाडीहरुमा सेप मैएर र पल ब्रेइटेनर छन्। 

उनीहरु दुवैले सन् १०७४ को विश्वकप पश्चिम जर्मनीबाट र युरोपियन कप बायर्न म्युनिखबाट जितेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .