ad ad

खेल


स्टेभन जेर्राड पनि साउदी अरेबियातिर, अल इतिफाकको प्रशिक्षकमा नियुक्त

स्टेभन जेर्राड पनि साउदी अरेबियातिर, अल इतिफाकको प्रशिक्षकमा नियुक्त

नेपालखबर
असार १९, २०८० मंगलबार ११:३४, काठमाडौँ

युरोपका स्टार खेलाडी भित्र्याइरहेको साउदी अरेबियन प्रो लिगले प्रशिक्षकमा पनि नजर लगाउन थालेको छ।

विश्वकै शीर्ष लिग बनाउने दौडमा रहेको साउदी अरेबियाले घरेलु फुटबलका लागि अब उत्कृष्ट प्रशिक्षक भित्र्याउन थालेको हो। 

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई अल नासारले अनुबन्ध गरेयता धमाधम अरु खेलाडी पनि युरोप छाडेर एसियातिर लागिरहेका छन्।

पछिल्लो पटक साउदी प्रो लिगले प्रशिक्षकमा पनि लगानी बढाउन थालेको छ। लिभरपुलका भेट्रान स्टेभन जेरार्डलाई साउदी प्रो लिग क्लब अल इतिफाकले सोमबार  मुख्य प्रशिक्षक नियुक्त गरेको छ। 

लिभरपुलका पूर्व कप्तानसमेत रहेका उनलाई साउदी क्लबले आकर्षक रकममा मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। 

यसअघि इङ्लिस क्लब एस्टन भिल्ला सम्हालिसकेका उनी गत अक्टोबरयता खाली थिए। तर अघिल्लो महिना साउदी अरेबिया पुगेका उनी प्रशिक्षककै रुपमा त्यहीँ बस्न तयार भएका हुन्। 

स्टेफन जेरार्ड एस्टन भिल्ला आउनुअघि स्कटल्यान्डको चर्चित क्लब रेन्जर्सको प्रशिक्षण कमान सम्हालेका थिए। उनले सन् २०२०/२१ को सिजनमा रेन्जर्सलाई लिग उपाधि नै जिताए। 

साउदी अरेबियाले पछिल्लो समय भिजन २०३० अनुसार खेल क्षेत्रमा अर्बौँ लगानी गरिरहेको छ। साउदी खेलकुद मन्त्रालयले गत जुन ५ मा पब्लिक इन्भेष्टमेन्ट फन्डमार्फत् साउदी प्रो लिगका चार क्लबको स्वामित्व लिएको थियो। 

जसअनुसार साउदी प्रो लिगका अल इतिहाद, अल आहिल, अल हिलाल र अल नासरको ७५ प्रतिशत सेयर यो कम्पनीले किनेको छ।

यसअघि पीएफएले इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल पनि किनेको थियो। जहाँ यसको ७५ प्रतिशत सेयर छ। 

जेर्राडले सम्हालेको अल इतिफाक क्बल डाममाम सहरमा छ। यो क्लबमा सरकारी स्वामित्व छैन। 

साउदी अरेबियाले आफ्ना पर्यटन दूतसमेत रहेका लियोनेल मेस्सीलाई पनि भित्र्याउन खोजेको थियो। त्यसका लागि प्रो लिग क्बल अल हिलालले मेस्सीलाई वार्षिक ४ मिलियन पाउन्ड दिने प्रस्ताव गरेको थियो। तर उनी अमेरिकन क्लब इन्टरमियामी गएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .