श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारत ‘ए’विरुद्ध निराशाजनक प्रदर्शन गरेको छ।
पहिलो खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएको नेपालले सोमबार दिउँसो २ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा भारतविरुद्ध ब्याटिङ गर्दै निराशाजनक प्रदर्शन गरेको हो।
टेस्ट मान्यता प्राप्त छिमेकी राष्ट्रको ‘ए’ टिमविरुद्ध पहिले टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पाकिस्तानविरुद्धकै कमजोरी दोहोर्यायो।
भारत ‘ए’विरुद्ध पनि नेपालका ओपनर र टप अर्डरका ब्याटरहरु फ्लप हुन पुगे। नेपालले केबल ३७ रनको अवस्थामा ५ विकेट गुमाइसकेको थियो।
तर अहिले कप्तान रोहित पौडेल र सोमपाल कामीले नेपाली इनिङ सम्हालिरहेका छन्।
ताजा अवस्थामा नेपालले १८ ओभर ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ६६ रन मात्रै बनाउन सकेको छ। ताजा अवस्थामा नेपालको रनरेट ४ पनि पुग्न सकेको छैन।
नेपाली ओपनर कुशल भुर्तेल केबल २ बलको सामना गर्दै शून्यमै एलबीडब्लु धरापमा परेर पवेलियन फर्किए।
त्यस्तै अर्का ओपनर आशिफ शेख पनि १५ बलमा केबल ७ रन जोड्दै क्याच आउट भए। उनले आफ्नो पारीमा एक चौका हाने।
उता लामो समयपछि सिनियर टिममा अवसर पाउँदै तेस्रो क्रममा ब्याटिङमा उत्रिएका देव खनाल पनि २१ बलमा १५ रन जोड्दा क्याच आउट भए। उनले आफ्नो पारीमा ३ चौका हाने।
पाँचौ क्रमका भीम सार्की पनि आजको खेलमा फ्लप भए। उनी पनि क्रिजमा टिक्न सकेनन्। भारतीय खेलाडीले धारिलो बलिङ गर्दा उनी पनि ८ बल खेल्दै ४ रन जोडेर पबेलियन फर्किए।
अर्कातिर छैटौँ क्रमका कुशल मल्लले खाता नखोली क्याच आउट हुन पुगे। उनले ६ बलको सामना गरेर खाता खोल्नै नपाई आउट भए।
अहिले क्रिजमा चौथो क्रमका कप्तान रोहित पौडेल र सातौ क्रमका सोमपाल कामी छन्।
ताजा अवस्थामा रोहितले ३० बलको सामना गर्दै १८ रन जोडेका छन्। उनलाई साथ दिइरहेका सोमपालले २० बलमा ५ रन जोडेका छन्।
पहिलो प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित नेपालले भारतलाई टक्कर दिने अपेक्षा थियो।
उता भारत लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने तयारीमा छ। यता नेपालले अन्तिम चारको यात्राका लागि भारतलाई हराउनै पर्ने चुनौती छ।
नेपालले पहिलो खेल ४ विकेटले पाकिस्तान ‘ए’लाई सुम्पिएको थियो। उता भारत ‘ए’ यूएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो।
घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको च्याम्पियन नेपाल इमर्जिङ कपमा पुगेको थियो।
भारतपछि नेपालले समूह चरणको अन्तिम खेल बुधबार यूएईविरुद्ध खेल्दैछ।
इमर्जिङ एसिया कप प्रतियोगितामा ६ टिम सहभागी छन्। दुई समूहमा विभाजित टोलीबाट शीर्ष दुईले सेमिफाइनल पक्का गर्नेछन्।
यो प्रतियोगितामा नेपाल समूह 'बी' मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो।
दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुँदै छन्।
अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
Shares
प्रतिक्रिया