ad ad

खेल


एन्फा बैठक : धमाधम एजेन्डा पठाउँदै केन्द्रीय सदस्यहरु, फेरि विवाद हुने चिन्ता

एन्फा बैठक : धमाधम एजेन्डा पठाउँदै केन्द्रीय सदस्यहरु, फेरि विवाद हुने चिन्ता

नेपालखबर
साउन १५, २०८० सोमबार १२:४६, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बस्ने कार्यसमितिको बैठकमा एजेण्डा थप गर्न केन्द्रीय सदस्यहरुले प्रस्ताव गरिरहेका छन्। 

एन्फा महासचिव किरण राईले सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई पत्राचार गर्दै विभिन्न ११ एजेन्डा पठाइसकेका छन्। 

महासचिव राईले पठाएको एजेन्डामा महत्वपूर्ण विषय छुटेको भन्दै विभिन्न केन्द्रीय सदस्यहरुले एन्फामा पत्र दर्ता गराएका छन्। 

एन्फामा एजेण्डा थप गर्नका लागि अहिलेसम्म ४ केन्द्रीय सदस्यले पत्र दर्ता गराएका छन्।

एजेन्डा थपका लागि अहिलेसम्म केन्द्रीय सदस्य रवीन्द्र चन्द, पेमा डोल्मा लामा, रुपेश अधिकारी र अनिल मल्लले पत्र पठाइसकेका छन्। 

एन्फाको एजेण्डा र केन्द्रीय सदस्यको प्रस्तावलाई हेर्ने हो भने यो पटकको कार्यसमितिको बैठक पनि विवादित बन्ने देखिएको छ। 

एन्फा केन्द्रीय सदस्य रवीन्द्र चन्द (रविन) ले शुक्रबार बस्ने कार्यसमितिको बैठकमा ६ एजेण्डा थप गर्न प्रस्ताव गरेका छन्। 

आफू उपत्यका बाहिर भएका कारण सदस्य चन्दले आइतबार ६ एजेण्डा थप गर्न ईमेलमार्फत पत्रचार गरेका हुन्। 

चन्दले पठाएको पत्रमा साउन १० गते कार्यसमिति बैठकबारेको पत्रमा समावेशमध्ये केही महत्वपूर्ण एजेन्डा छुटेका कारण एन्फा विधानको धारा ३९ को ३ अनुसार महत्वपूर्ण थप गर्न पत्रचार गरेका हुन्। 

केन्द्रीय सदस्य चन्दले २०७९ फागुन १७ गते बसेको विवादित, अवैधानिक कार्यसमिति बैठकको निर्णय उपर छलफल सम्बन्धमा, आन्तरिक अडिट रिपोर्ट, सांगठनिक संरचना र कर्मचारी सम्बन्धमा, कतार विश्वकप २०२२ को टिकट, एन्फा बजेट र कर्णाली प्रदेश फुटबल संघको निर्वाचनसम्बन्धी एजेन्डा थप गर्न पत्रचार गरेका छन्। 

यसअघि एन्फा केन्द्रीय सदस्य तथा नेपाल महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामाले महिला खेलाडीको हकहित सुनिश्चित गर्न पाँच एजेन्डा थप गर्न प्रस्ताव गरेकी थिइन्। 

एन्फा सचिवालयमा शुक्रबार दर्ता पत्रमा लामाले एन्फामा महिला विभाग र नेपालको संविधानअनुसार महिलाले पाउने ३३ प्रतिशत आरक्षण सुरक्षित गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्रािष्ट्रय प्रतियोगिता पश्चात दिँदै आएको पुरस्कार राशि पुरुष र महिला फुटबल टिमका लागि बराबर हुने गरी निर्णय गरिनुपर्ने, एन्फा महिला एकेडेमी सञ्चालनबारे, महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिताबारे, महिला रेफ्री तथा प्रशिक्षकको संख्या वृद्धिका लागि रणनीतिक पहल गर्नुपर्नेसम्बन्धी एजेन्डा थप गरेर बैठकमा छलफल गर्न माग गरेकी छन्। 

यस्तै केन्द्रीय सदस्य रुपेश अधिकारीले गत फागुन १७ गतेको विवादित बैठक अवैधानिक कार्यसमिति बैठकको निर्णयबारे, आन्तरिक अडिट रिपोर्ट, कतार विश्वकप २०२२ को टिकट, एन्फा बजेट २०२४ र महिला तथा पुरुष राष्टिय खेलाडीहरुको पुरानो बाँकी पुरस्कार चुक्ता बारे एजेण्डा थप्न अनुरोध गरेका छन्। 

यस्तै केन्द्रीय सदस्य अनिल मल्लले नेपाली फुटबलको सुदृढीकरणका लागि विधान संशोधन,  सदस्य जिल्ला गठन प्रक्रियालगायत तीनवटा प्रमुख एजेन्डा थप गर्न माग गर्दै निवेदन दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .