ad ad

खेल


अमेरिकामा मेस्सीको जादु : लगातार ४ खेल जिताउँदै मियामीलाई लिग कपको क्वार्टरफाइनलमा पुर्‍याए

अमेरिकामा मेस्सीको जादु : लगातार ४ खेल जिताउँदै मियामीलाई लिग कपको क्वार्टरफाइनलमा पुर्‍याए

नेपालखबर
साउन २२, २०८० सोमबार १२:२७, काठमाडौँ

फ्रान्सेली क्लब पीएसजी छाडेर अमेरिकन मेजर लिग सकर क्लब इन्टर मियामी पुगेदेखि अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सी लगातार चम्किरहेका छन्।

इङ्लिस फुटबलर डेभिड बेकह्यामको समेत लगानी रहेको इन्टर मियामी पुगेयता मेस्सीले ४ खेलबाट ७ गोल गरिसकेका छन्।

सोमबार लिग कपअन्तर्गत क्वार्टरफाइनलका लागि भएको एफसी डल्लासविरुद्धको खेलमा मेस्सीले फेरि एक पटक जादु गरेका छन्। 

क्वार्टर फाइलन प्रवेशका लागि भएको खेलको छैटौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका मेस्सीले जितका लागि पनि निर्णायक भूमिका खेले।  

पहिलो हाफको सुरुमै अग्रता बनाएको इन्टर मियामीले त्यसपछि २ गोल खान पुग्यो। डल्लासका लागि फाकुन्डो क्युईग्नोनले ३७ औँ मिनेट र बेर्नार्ड कामुङ्गोले ४५ औँ मिनेटमा गोल गर्दै मियामीले सुरुमै लिएको अग्रता उल्ट्याइदिएका थिए।

त्यसपछि खेलको दोस्रो हाफको ६३ औँ मिनेटमा डल्लासका लागि एल भेलास्कोले गोल गरेपछि अग्रता ३-१ मा पुग्यो।

२ गोलले पछि परेको अवस्थामा मियामीले खेलमा फर्किने कोसिस जारी राख्यो। तेस्रो गोल खाएको २ मिनेटमै मियामीका मेन्जामिन केर्मासिचले गोल गरेपछि खेल ३-२ को अवस्थामा पुग्यो।

तर यो भिडन्तमा दुईवटा आत्मघाती गोलले पनि नतिजामा फरक पार्यो। खेल ३-२ को अवस्थामा रहँदा ६८ औँ मिनेटमा मियामीका रोबर्ड टेयलोरले आत्मघाती गोल गरेपछि डल्लासको अग्रता ४-२ भयो।

खेल ४-२ मा रहेको अवस्थामा मियामीको हातबाट नतिजा फुत्केको अनुमानबीच ८० औँ मिनेटमा डल्लासका मार्को फार्फानले आत्घाती गोल उपहारमा दिएपछि खेल ४-३ को अवस्थमा पुग्यो।

मियामी त्यतिमै रोकिएन। मियामीले डल्लासको डी एरियानजिकैबाट फ्री किकको अवसर पायो। खेलको ८५ औँ मिनेटमा मेस्सीले उत्कृष्ट प्रहार गर्दै फ्री किकलाई गोलमा परिणत गरेपछि नतिजा ४-४ को अवस्थामा पुग्यो।

त्यसपछि खेलको निर्धारित बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन। खेल बराबरीमा सकिएपछि निर्णयको छिनोफानो पेनाल्टी सुटआउटबाट गरियो।

जसमा मियामीका लागि पहिलो प्रहर गरेका मेस्सीले सजिलै गोलमा परिणत गरे। त्यसपछि मियामीका पाँचै खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गर्न सके।

तर डल्लासका पाक्सटोन पोम्यकालको प्रहारले जाली चुम्न सकेन। यस्तोमा मियामीले कुनै समय आफ्नो हातबाट उम्किसकेको खेल मेस्सीकै प्रदर्शनबाट आफ्नो पक्षमा पार्दै लिग कपको क्वार्टरफाइनल यात्रा पक्का गरेको छ।

यसअघि पनि मेस्सीले लिग कपअन्तर्गतका तीनवटा भिडन्तमा मेस्सीले लगातार गोल गरेका थिए। 

गत बिहीबार भएको लिग कपको अन्तिम १६ प्रवेशका लागि भएको खेलमा मेस्सीले २ गोल गरेका थिए। 

ओर्नाल्डो सिटीविरुद्ध उत्रिएको इन्टर मियामीले मेस्सीकै प्रेरणामा ३-१ को सहज जित निकाल्दै अन्तिम १६ को यात्रा पक्का गरेको थियो। अब मियामी अन्तिम ८ मा पुगिसकेको छ। 

मेस्सी आवद्ध हुनुअघि लगातार खराब प्रदर्शनबाट गुज्रिएको इन्टर मियामीले पनि लय समातेको छ। लगातार तीन खेलमा जित निकालेपछि मियामीमा नयाँ जोश भरिएको छ। त्यहीकारण उसले नतिजा आफ्नो पक्षमा पारिरहेको छ।

मेस्सीले यसअघि लिगकपकै दोस्रो खेलमा व्यक्तिगत २ गोल गर्दै एटलान्टा युनाइटेडविरुद्ध मियामीलाई ४-० को एकपक्षीय जित दिलाएका थिए।

त्यसअघि जुलाई २१ मा मेस्सीले डेब्यु गरेको खेलमा इन्टर मियामी २-१ ले विजयी भयो। खेल १-१ गोलको बराबरीमा सकिने अवस्थामा मेस्सीले इन्जुरी समयको अन्तिम क्षणमा फ्रि किकबाट मियामीलाई जिताएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .