ad ad

खेल


सन्दीप : उचाइबाट खोँचमा

सन्दीप : उचाइबाट खोँचमा

लक्ष्मी जि.सी
पुस २५, २०८० बुधबार २०:४६, काठमाडौँ

५ वर्षअघि इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि अक्सनबाट दिल्ली डेयर डेभिल्समा अनुबन्ध भएपछि  सन्दीप लामिछानेले भनेका थिए, ‘यात्रा अब सुरु भयो।’

नभन्दै सन्दीपले १७ वर्षको किशोरवयमै विश्वकै महँगो लिग आईपीएलका दुई सिजन खेल्ने मौका पाए। विश्वभर क्रिकेटकै ढोका खुल्यो आईपीएल, क्यारेबियन लिग, अस्ट्रेलियन क्रिकेटसहित अनेक मञ्चमा छाए।

एउटा १७ वर्षे किशोर रातारात यो उचाइमा पुग्नु चानचुने सफलता थिएन। यो अविश्वसनीय सफलता देखेर धेरै नेपाली क्रिकेटप्रेमी उनको खेलयात्रा निकै लामो हुने अपेक्षा गरेका थिए। तर, त्यो यात्रा ४ वर्षमै धर्मरायो। मैदानमा उनी जति सफल भए पनि चारित्रिक पक्षमा उनी कमजोर सावित भए। त्यही कारण उनको क्रिकेट यात्रामा बिराम लागेको छ।

चामत्कारिक उचाइ
१७ वर्षका अन्य किशोरकिशोरीको दैनिकी कलेज आउँदा-जाँदा बित्दा सन्दीप तिनै किशोर-किशोरीसहित नेपाली क्रिकेटप्रेमीका नजरमा स्टार बन्न पुगेका थिए। सन्दीप लामिछाने र क्रिकेट। यी दुई नाम नेपालमा एकअर्काका पर्यायवाचीजस्तै भइसकेका थिए।

कयौँ संघर्ष र संकट छिचोल्दै अघि बढेको नेपाली क्रिकेटलाई अहिलेको उचाइमा पुर्‍याउने पात्रमध्ये एक थिए सन्दीप। नेपाली क्रिकेटको दायरालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन सन्दीपको योगदान थियो। हुन त उनीअघि शक्ति गौचन, पारस खड्का र ज्ञानेन्द्र मल्लले पनि स्टार छवि बनाएर नेपाली क्रिकेट फ्यानमाझ उभिइसकेका थिए। तर सन्दीपको सफलता यस्तो थियो कि १७ वर्षमै विश्वकै महँगो फ्रेन्चाइजी लिग उनले मात्रै खेले। सन् २०१८/१९ मा सन्दीपले आईपीएल खेलेयता अहिलेसम्म अरू खेलाडी दोहोरिन सकेका छैनन्।

दिल्लीबाट आईपीएल खेल्दा २० लाखमा बिकेका उनी त्यसपछि अन्य लिगमा करोडभन्दा माथि लिने हैसियतमा पुगे। अर्थात् सन्दीपका लागि अन्य चर्चित लिगहरू पैसाको खोलो बगाउन तयार भए।

सन् २०१८ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सले किनेपछि उनले नाम र दाम दुवै राम्रै कमाए। क्रिकेटमै जमेर काठमाडौंमा सुविधासम्पन्न बंगला जोड्न सके। जबकि, उनकै अरू समकक्षीहरूले करिअर जोगाउन निरन्तर संघर्ष गरिरहनुपर्‍यो।

सन्दीपले अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको प्रशिक्षण पाएका थिए। दिल्लीमा सन्दीपले भारतीय क्रिकेटर गौतम गाम्भीर, अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेल, न्युजिल्यान्डका कोलिन मुन्रो र ट्रेन्ट बोल्टलगायतसँग प्रशिक्षण तथा खेल्ने मौका पाए। 

क्रिकेट यस्तो खेल हो, जहाँ पैसाको खोलो बगेको हुन्छ। फ्रेन्चाइजीहरूले खेलाडीका लागि करोडौँ खर्चेर तयार हुन्छन्। सम्बन्धित देशले पनि क्रिकेटमा धक फुकाएर लगानी गर्छन्। 

क्रिकेटको लोकप्रियतासँगै सन्दीप पनि समर्थकमाझ छाउँदै गए। नेपाली खेल जगतमा सबैभन्दा धेरै फ्यान फलोइङ भएका खेलाडीका रूपमा उनको परिचय किशोर उमेरमै बनिसकेको थियो। अर्थात्, सन्दीपका फ्यान किशोर-किशोरीदेखि हजुरबा-हजुरआमा पुस्तासम्मका थिए। 

जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ उनले आफ्नो धारिलो लेग स्पिन बलिङको जादु छाडे। 

चरित्रमा चुकेपछि...
तर छोटो समयमै नाम र दाम दुवै कमाइरहेका उनै सन्दीपको करिअर अहिले करिब समाप्तिको बिन्दुमा छ। कुनै बेला आईपीएलमा आबद्ध हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाको बधाई पाएका सन्दीपलाई वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गर्दा चर्को आलोचनाको सामना गर्नुपर्‍यो। 

एकजना किशोरीलाई बलात्कारजस्तो गम्भीर आरोप प्रहरीमा दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। 

२०७९  भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएपछि लामिछानेको स्टारडम एकाएक पतन हुन पुग्यो। ती किशोरीलाई भदौ ५ गते काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर दुईपटक बलात्कार गरेको अभियोग उनीमाथि लागेको थियो। 

नेपाली टिमको कप्तानका रूपमा गत वर्षको भदौमा केन्या भ्रमण सकेर क्यारेबियन प्रिमियर लिग खेलिरहँदा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो। त्यसको एक महिनापछि उनी नेपाल फर्केका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदा अरुबेलाजस्तो उनको स्वागत, सत्कार र वाहवाही होइन, रुमालले मुख छोपेर प्रहरीसामु आत्मसमर्पण गर्नुपरेको थियो। 

आफ्नै फ्यान रहेकी किशोरीलाई काठमाडौंको होटलमा लगेर बलात्कार गरेको जाहेरी प्रहरीमा परेसँगै नेपाल फर्किएका सन्दीपको हातमा विमानस्थलमै हतकडी पर्‍यो। त्यहीकारण उनको करिअर एकाएक हिमालको उचाइबाट कुनै गहिरो खोँचमा खसेजस्तो भएको छ।

जिल्ला अदालत काठमाडौंले उनलाई बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय निर्धारण गरेको छ। यही फैसला माथिल्ला अदालतले पनि सदर गरेमा पीडितलाई उनले २ लाख रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ भने ३ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ।  

अदालतबाट पाएको सहुलियत
सन्दीपले जति गम्भीर अभियोगको सामना गर्नुपरे पनि अन्य अभियुक्तले बिरलै पाउने सहुलियत अदालतबाट पाएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान नपाउने सर्तसहित २०७९ पुस २९ गते थुनामुक्त गरेको थियो। उनी २०७९ पुस २९ गते २० लाख धरौटीमा रिहा भएका थिए। उनले ९९ दिन कारागारमा बिताएका थिए। त्यसपछि विरोधका बाबजुद नेपाल क्रिकेट संघले सन्दीपलाई राष्ट्रिय टिममा पनि फर्कायो। 

राष्ट्रिय टिममा फर्किएपछि सन्दीपले राष्ट्रिय टोलीमा पुनरागमन गरे। नेपालले पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट प्रतियोगिता पनि खेल्यो।

उच्चले विदेश जान नपाउने गरी दिएको आदेशलाई अझै खुकुलो बनाउँदै सर्वोच्चले बाटो खोलिदिएपछि सन्दीपको पुनरागमन सहज भएको थियो। 

२०७९ माघ १७ गते पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बैठकले उनको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा फिर्ता बोलाएको थियो। 

बलात्कार अभियोगमा मुद्दा चलिरहँदा सन्दीपले मैदानमा नेपालको प्रतिनिधित्व गरिरहेका थिए। उता जिल्ला अदालत काठमाडौँमा बहस र पेसी लगातार सरिरहेको थियो।

टोलीमा फर्किएपछि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजका अन्तिम १२ खेलमध्ये नेपालले ११ खेल जितेको थियो। यससँगै नेपालको ओडीआई मान्यता जोगियो र नेपालले एसिया कपमा समेत स्थान बनायो। 

आरोपितकै रूपमा सक्रिय खेल जीवनमा पुनः जोडिएका सन्दीपले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमानसमेत बनाए।

सन्दीपले घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध आदिल साफिकको विकेट लिँदा यो कीर्तिमान कायम गरेका थिए। 

४२ खेलमा एक सय विकेट लिएर अफगानिस्तानका रसिद खानको कीर्तिमान उनले उनले तोडेका थिए। ४४ खेलमा सय विकेट लिएको कीर्तिमान रसिदका नाममा थियो। 

सन् २०१८ मा नेदरल्यान्डविरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका सन्दीपले २२ खेलमा ५० विकेट लिएका थिए। ओडीआईमा नेपालबाट १०० विकेट लिने उनी पहिलो बलर हुन्। 

बलिङतर्फ ओडीआईमा उनले ५१ खेलको ५० इनिङमा ११२ विकेट लिएका छन्। ब्याटिङतर्फ ३५ इनिङस्मा ३ सय ७६ रन बनाएका छन्। उनको सर्वाधिक रन ३५ छ। यसमा उनले ३३ चौका र ५ छक्का प्रहार गरेका छन्। 

पछिल्लो पटक उनले सन् २०२३ मा एसिया कप अन्तर्गत पालकेलेमा भारतविरुद्ध खेलेका थिए। 

टी–२० अन्तर्राष्ट्रियतर्फ २०१८ मा आईसीसी वर्ल्ड ११ बाट वेस्ट इण्डिजविरुद्ध डेब्यु गरेका थिए। जम्मा ५२ टी–२० खेलमा सन्दीपले ९८ विकेट लिएका छन्। 

ब्याटिङतर्फ १९ इनिङस्मा ३ चौका र १ छक्का प्रहार गर्दा ६४ रन बनाएका छन् जसमा उनको सर्वाधिक रन भनेको १६ हो। सन्दीपले अन्तिमपटक २०२३ मा ओमानविरुद्ध कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेलेका थिए। 

टी-२० मा डेब्यू गरेका उनले १ सय ४४ खेलको १ सय ४२ इनिङसमा २ सय ६ विकेट लिँदा १ सय २७ रन बनाएका छन्। 

काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई ८ वर्ष कैद सजाय निर्धारण गरेको छ। यद्यपि, १० वर्षमुनि सजाय तोकिएको र यसअघि पुर्पक्षका लागि थुनामा बस्नु नपर्ने गरी उच्च तथा सर्वोच्चले गरेको आदेशका कारण उनले थप सहुलियत पाउनेछन्। थुनामा नबसी बाहिरै रहेर मुद्दाको पुनरावेदन गर्न पाउनेछन्। 

तर, बलात्कारजस्तो गम्भीर फौजदारी अभियोगमा तल्लो तहको अदालतबाट दोषी ठहर भएपछि सन्दीपका लागि राष्ट्रियदेखि क्लब क्रिकेटमा पनि पुनरागमनको सम्भावना करिब सकिएको छ।

आफ्नै कारण सन्दीप २३ वर्षको उमेरमै उनको करिअर समाप्तिको मोडमा छ। जिल्ला अदालतबाट दोषी ठहर भई सजाय नै तोकिएपछि अब समाजको नजरमा समेत उनको परिचय ‘बलात्कारी’मा सीमित भएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .