ad ad

खेल


एक खेलअगावै नेपालले आफ्नो पक्षमा पार्‍यो सिरिज

एक खेलअगावै नेपालले आफ्नो पक्षमा पार्‍यो सिरिज

लक्ष्मी जि.सी
माघ २७, २०८० शनिबार १६:२८, काठमाडौँ


क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा लगातार दोस्रो जित निकाल्दै घरेलु टोली नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ। 

घरेलु मैदानमा शनिबार भएको खेलमा नेपालले क्यानडामाथि ४ विकेटको सहज जित निकालेको हो। 

यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित निकालेको थियो। 

क्यानडाले दिएको २ सय ८६ रनको विशाल लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा भेटटयो। 

४६ ओभरको पहिलो बलमा कुशल मल्लले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे। 

तेस्रो विकेटका लागि सिनियर टोलीका कप्तान रोहित पौडेल र उमेर समुहका कप्तान देव खनालले १ सय ५० रनको किर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज जिततर्फ अघि बढाएका थिए। 

तेस्रो विकेटका लागि भएको यो अहिलेसम्म कै सर्वाधिक ठुलो साझेदारी हो। यसअघि तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले नामिबियाविरुद्ध १ सय ३३ रनको साझेदारी गरेका थिए। 

देव खनाल ७६ रन बनाउँदै क्याच आउट भए। एक दिवसीय खेलमा देवले बनाएको यो सर्वाधिक रन हो। यसअघि देवलले ओडिआईमा ७२ रन बनाएका थिए। ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका देव ३३.५ ओभरमा ७६ रन बनाउँदै आउट भए। 

देवले २७ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरे। देवले ५६ बलमा ४ चौका र ३ छक्का मद्धतमा अर्धशतक पूरा गरेका थिए। ओडिआईमा देवको यो तेस्रो अर्धशतक हो। 

कप्तान रोहित ८७ रन बनाउँदै पेभेलियन फर्किदा शतक बनाउनबाट चुके। १ सय १ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका रोहित ४१ औँ ओभरको दोस्रो बलमा सदविन जहरको बलमा क्याच आउट भए। 

रोहितले ६७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। ओडिआइमा रोहितको यो नवौँ अर्धशतक हो। 

पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले ४.५ ओभरमा ५५ रनको साझेदारी गरेका थिए। आशिफ ४.५ ओभरमा १० रन बनाउँदा आउट भए। 

ओपनर अनिल शाह किर्तिमानी अर्धशतक पूरा गर्दै पेभेलियन फर्के। आक्रमक ब्याटिङ गरेका अनिलले १९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। योसँगै ओडिआईमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने अनिल पहिलो खेलाडी बनेका छन्। 

यसअघि पिएनजीविरुद्ध ओपनर आशिफ शेखले २१ बलमा अर्धशतक पूरा गरेका थिए। सातौँ ओभरको तेस्रो बलमा अनिल इश्वरजत सोनीको बलमा एलबीडब्लु धरापमा परे। 

क्यानडाविरुद्ध नेपालका तिन खेलाडीले अर्धशतक पूरा गरे। 

भीम सार्की २३ रनमा आउट भए। पवन सर्राफ १४ रनमा पेभेलियन फर्के।  

क्यानडाका लागि इशवरज्योत सोही र हर्ष ठाकेरले समान २ विकेट लिए। सदविन जफर र दिलप्रित बाज्वाले समान एक विकेट लिए।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा  विकेटको क्षतिमा २ सय ८५ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर आरोन जोनसन र नवनित डालिवालले ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठुलो साझेदारी हो। यसअघि एसिया कपमा भारतका रोहित शर्मा र शुभमन गीलले १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए। 

आकाश चन्दले १८.२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ठुलो साझेदारी तोडेका थिए। नवनितले ६० बलमा ८ चौका हान्दै ४६ रन बनाएर पेभेलियन फर्के। आकाशले डेब्यु विकेट लिए। 

अर्का ओपनर आरोन जोनसन ६५ रन बनाउँदा रन आउट भए। आरोनले ६२ बलमा १० चौका र २ छक्का हाने। 

कप्तान रोहित पौडेलले ३२ औँ ओभरमा दुई विकेट झारे। रोहितले ३२ औँ ओभरको पाचौँ बलमा निकोलस किर्तनलाई २० रनमा आउट गराए। रोहितले सोही ओभरको दोस्रो बलमा पारगत सिंहलाई ३८ रनमा क्याच आउट गराएका थिए। ३८ बलमा ६ चौका हाने पारगत रोहितको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।

कुशलले ४१ औँ ओभरको चौथो बलमा कप्तान सद विन जफरलाई १ रन बनाउँदा पवन सर्राफको हातबाट क्याच आउट गराए। ३९ औँ ओभरको चौथो बलमा दिलप्रित बाज्वालाई १९ रनमा बोल्ड आउट गराए। 

त्यसअघि ३४.५ ओभरमा सुर्य तामाङले हर्ष ठाकरलाई ३ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ओडिआईको पहिलो विकेट लिएका थिए। सुर्यले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यु गरेका थिए। 

पवन सर्राफले साहिद ममजाइलाई १३ रनमा बोल्ड आउट गराए। 

नवौँ किवेटका लाग श्रेयास मोभा र उदय भगवान ४६ रनको साझेदारी गरे। श्रेयास ४० रन बनाउँदा सोमपाल कामीको बलमा क्याच आउट भए। उदय २० रनमा नटआउट रहे। 
नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २ विकेट लिए। 

सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा एक एक विकेट रह्यो। सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .