ad ad

खेल


जसले जिते वर्ष २०७९ को स्पोर्ट्स अवार्ड

दुई पत्रकारलाई स्पेसल अवार्ड प्रदान
जसले जिते वर्ष २०७९ को स्पोर्ट्स अवार्ड

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
माघ २८, २०८० आइतबार २०:४, काठमाडौँ

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा खेलाडी, प्रशिक्षक र खेल पत्रकारसहित नौजनालाई प्रदान गरिएको छ।

यस पटकको अवार्डमा एथलेटिक्सको वर्चश्व देखियो। पछिल्लो एक वर्षयता विश्वस्तरका विभिन्न प्रतियोगिता खेलेको क्रिकेटले आशातित अवार्ड जित्न सकेन।

एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन्। दीपक पुरुषमा र राजपुरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भए।

दीपकले मारे बाजी

तस्बिर : सरोज नेपाल
बरु एथलेटिक्सतर्फ महिला र पुरुष दुवै खेलाडीले अवार्ड जित्न सफल भए। एसिया कपसहितका उच्चस्तरका प्रतियोगिता खेलेका क्रिकेटरहरूलाई पछि पार्दै एथलेटिक्सका दीपक अधिकारी वर्ष उत्कृष्ट खेलाडी भएका छन्। 

वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख, रोहितकुमार पौडेल र एथलेटिक्सका अधिकारी मनोनयनमा परेका थिए।

तर, दुवै चर्चित क्रिकेटरलाई पछि पार्दै अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जित्न सफल भए।

दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरे।  वर्ष उत्कृष्ट खेलाडीद्वय दीपकले मोटरसाइकल पाए।

महिलातर्फ राजपुरा पछाई

तस्बिर : सरोज नेपाल
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एथलेटीक्सकी राजपुरा पछाईं वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन्।

एथलेटिक्सकी पुष्पा भण्डारी र बास्केटबलकी अनुशा मल्ललाई पछि पार्दै राजपुराले उक्त अवार्ड जित्न सफल भएकी हुन्। 

उनले वर्षको महिला खेलाडी घोषित हुँदै पल्सर मोटरसाइकल पनि जित्न सफल भएकी छन्। पछाईले १६ औँ एसियन क्रस कन्ट्रीतर्फ दोहोरो रजत पदक जित्न सफल भएकी थिइन्। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट खेलाडी राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाइन्।

पिपुल्स च्वाइस अवार्ड सिक्कालाई

तस्बिर : सरोज नेपाल
टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन्। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन्।

सिक्काले सर्वाधिक ४४.८ प्रतिसत मत प्राप्त गरिन्। यस अवार्डको मनोनयनमा करातेका विप्लभलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ,  भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए।

सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन्। उनलाई ईसेवाको चिफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक विष्टले अवार्ड प्रदान गरे।

टेबलटेनिसकी सिक्का डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन्।

विश्व महिला टेबलटेनिस वरीयतामा ५१० सम्म पुग्न सफल सिक्का यसै वर्ष भएको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०८० विजेतासमेत हुन्। 

दक्षिण कोरियामा भएको एसियन च्याम्पियनसिपमा सहभागी सिक्का यसै वर्ष चीनमा भएको एसियन गेम्समा समेत सहभागी थिइन्। 

चन्द्र गुरुङ उत्कृष्ट प्रशिक्षक

तस्बिर : सरोज नेपाल
वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भएका छन्। यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए।

उनलाई सूर्य नेपाल प्रालीका प्रतिनिधि विदुर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रा.लि.का सिनियर डिसिइडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरे।

गुरुङको प्रशिक्षणमा १६औं एशियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो।

उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कास्य तथा जुनियरमा दुई रजत र एक कास्य पदक प्राप्त गरेको थियो।

प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे।

युवा वर्ष खेलाडी क्रिकेटका देव

तस्बिर : सरोज नेपाल
युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए। उनी नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन्।

देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एशिया छनोटको उपाधि जित्न सफल भएको थियो। उनले एथ्लेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए। उनलाई होटल याक एण्ड यतिकी महाप्रवन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालीका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे।

मैया बिसुंखेलाई पारा एथ्लिट सम्मान

तस्बिर : सरोज नेपाल
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैया बिसुङ्खे सम्मानित भइन्। उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन्। उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन्।

जन्मिँदा नै दायाँ हातको आधा भाग नभएकी उनलाई सानैमा आमाले छाडेकी थिइन्। बुवासँग हुर्किएकी उनी १० वर्षको उमेरमै बुवालाई गुमाउन बाध्य भएकी थिइन्। 

एथलेटिक्सकी प्रतिभावान खेलाडी उनी एसओएसबाट सन् २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा भाग लिएर स्वर्ण पदक चुमिन्। त्यसपछि उनले कहिले पछाडि फर्केर हेर्नु परेन।

उनले सन् २०० ८ मा चीनको बेइजिङमा भएको पारा ओलम्पिक प्रतियोगितामा छनोट भइन्। तर कोटा सकिएको बताएर उनलाई भाग लिनबाट बञ्चित गरियो। 

उनले सन् २००९ मा जापानमा भएको युथ पारा गेम्समा भाग लिइन्। त्यसपछि ओलम्पिक खेल्ने सपना सन् २०१२ मा पूरा भयो।

उनले चीनको ग्वाङझावमा भएको एशियाली पारा गेम्समा खेलिन्। सन् २०१२ मा उनले लण्डन ओलम्पिक पारा गेम्समा खेल्ने अवसर पाइन्।

पहिलो ओलम्पियन प्रधानलाई लाइफ टाइम एचिभमेन्ट

तस्बिर : सरोज नेपाल
लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तोलक राजेन्द्रकुमार प्रधानलाई प्रदान गरियो। खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन्।

प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे।

अवार्डसँगै प्रधानलाई नगद ५० हजार रुपैयाँ पनि प्रदान गरिएको छ। उनी अहिले भारोत्तोलन खेलको निर्णायकका रुपमा पनि देखिन्छन्। 

प्रधान सन् १९७८ मा मिस्टर काठमाडौँ पनि भएका थिए। सन् १९७८ मा उनी एसियन गेम्स खेल बैंकक पनि पुगेका थिए। तर उनले त्यहाँ प्रतिस्पर्धाबाट बञ्चित हुनु परेको थियो। 

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उनी बोल्न सक्दैनन्। तर अहिले पनि उनी नयाँ पुस्ताका खेलाडीलाई नियमित प्रशिक्षण दिइरहन्छन्। 

स्पेसल अवार्ड रञ्जितलाई

तस्बिर : सरोज नेपाल
फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित स्पेसल अवार्डबाट सम्मानित भएका छन्।

उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन्।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे।

विशेषत: पोखरालाई कार्यक्षेत्र बनाउँदै फोटो पत्रकारितामा सक्रिय उनी खेलकुदतर्फ चर्चित छन्।

खेल फोटो पत्रकार रुपमा आफूलाई अब्बल सावित गरिसकेका उनले फोटो पत्रकारितामै चार दशक लामो यात्रा तय गरिसकेका छन्। 

एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड चिलाई

तस्बिर : सरोज नेपाल
एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट हङकङका पत्रकार चि चेन फाईलाई प्रदान गरिएको छ। उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अवार्ड प्रदान गरे।

चर्चित खेल पत्रकार उनले आफ्नो रिपोर्टिङ करिअरमा ६ वटा ओलम्पिक प्रतियोगिता र ५ वटा एसियाली खेलकुदको समाचार लगातार लेखिसकेका छन्। 

सबैलाई एक वर्षको बीमा
एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेताले युनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट एक वर्षका लागि खेलकुद बीमा पाउनेछन्।

तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .