ad ad

खेल


कीर्तिमानी रुविना, जसलाई आमाको संघर्षले सफल बनायो

कीर्तिमानी रुविना, जसलाई आमाको संघर्षले सफल बनायो

तस्बिर : क्यान नेपाल


लक्ष्मी जि.सी
फागुन १, २०८० मंगलबार १९:२०, काठमाडौँ

१६ वर्षमै राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेकी रुविना बेल्वासे क्षत्रीले पहिलो शतकका लागि १५ वर्ष कुर्नुपर्‍यो। 

मंगलबार माल्दिभ्सविरूद्ध शतकीय इनिङस् खेल्दा नेपाली महिला क्रिकेटरको पहिलो शतकको कीर्तिमान रुविनाका नाममा लेखियो।

२०६५ देखि टोलीमा परेकी रुविनाले एक दशक बढी राष्ट्रिय टिमको नेतृत्व गरिन्। व्यक्तिगत प्रदर्शन राम्रो नभएपछि राष्ट्रिय टिमको कप्तानीबाट उनलाई हटाइयो। 

त्यसपछि रुविना मैदानमा खुल्दै गइन्। परिणामतः मंगलबारको खेलमा उनले कीर्तिमान बनाइन्।

डेब्युको चार वर्षपछि २०६९ सालमा उनले नेरी थापाको स्थान लिँदै टोलीको नेतृत्व गरेकी थिइन्।

करिब एक दशक टोलीको कप्तानी गरेकी रुविनाको जिम्मेवारी त्यसपछि इन्दु बर्मालाई दिइयो। ६ महिनाअघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान फेर्ने निर्णय लियो। 

कप्तानी छाडेपछि रुविना व्यक्तिगत प्रदर्शनमा केन्द्रित हुन पाइन्। 

जसको प्रभाव प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा देखियो। अलराउन्डर रुविना प्रधानमन्त्री कपकी सर्वोत्कृष्ट खेलाडी बनिन्।

उनले प्रधानमन्त्री कपका १० खेलमा ३ सय ४५ रन बनाएकी थिइन्। प्रतियोगितामा जम्मा ११ विकेट लिइन्। 

‘व्यक्तिगत रूपमा ब्याटिङ गर्न मन लाग्छ। सिनियर खेलाडीले छाड्दा आफूलाई पनि जाने बेला आएको भन्ने पर्दै छ’, पीएम कपपछि रुविनाले भनेकी थिइन्, ‘एउटा भूमिकाबाट निस्किएपछि ब्याटिङमा राम्रो गर्न मन लाग्छ। ब्याटिङमा राम्रो इनिङस् दिनुपर्छ भन्ने भएको छ।’

इन्दुकै कप्तानीमा मलेसियामा जारी एसीसी प्रिमियर कप खेलिरहेको नेपालले मंगलबार माल्दिभ्सविरूद्ध कीर्तिमानी जित निकाल्दा रुविना १ सय १८ रनमा अविजित रहिन्। उनले ५९ बलमा १० चौका र ५ छक्का हानिन्।

रुविनाले ५४ बलमा १० चौका र ३ छक्का मद्दतमा शतक पूरा गरिन्। राष्ट्रिय टोलीमा पुगेको १५ वर्षपछि रुविनाले पहिलो शतक हानिन्। 

अलराउण्डर रुविनाले बलिङतर्फ पनि ३ विकेट लिइन्। माल्दिभ्समाथि कीर्तिमानी जित निकाल्ने क्रममा रुविनाले ३.५ ओभरमा मात्र २ रन खर्चिन्। 

टेबल टेनिस र भलिबल मन पर्नेको क्रिकेट यात्रा
रुविनाका ठूला मामा कृष्ण बस्नेत करातेका गुरु थिए। त्यसैले उनले रुविनालाई पनि कराते खेलाडी बनाउने सोच बनाएका थिए। तर रुविनालाई कराते र फुटबल भनेपछि डर लाग्थ्यो। उनको रुचि टेबल टेनिस र भलिबलमा थियो। 

नजानिँदो तरिकाले रुविनाको रूचि क्रिकेटमा बढ्दै थियो।

सानो छँदा पनि छोरीले खेल्ने भाँडाकुटी र लुकामारीमा रुविनाको रुचि थिएन। घरनजिकको मैदानमा केटाहरू क्रिकेट खेल्थे। रुविना त्यसमै मिसिँदै खेल्न थालिन्।

एक दिन कसैले आमालाई तपाईंकी छोरी एक्लै केटाहरूसित क्रिकेट खेल्छे भनेर कुरा लगाइदिए। तर, आमाले सहज जवाफ दिइन्, ‘छोरीको इच्छा हो, उसले जे खेल्न चाहन्छे, खेलोस्।’

आमाको त्यही जवाफ रुविनाको क्रिकेट यात्रामा पाइला बढाउने अर्को खुड्किलो बन्यो। 

सायद रुविनाको रुचि बुझेरै पूर्वराष्ट्रिय खेलाडी मनोज कटुवालले मेची क्रिकेट एकेडेमीको सुरुवात गरेका थिए। भाञ्जीको क्रिकेटप्रतिको रुचिमा मामाले मलजल गरे र रुविनालाई एकेडेमीमा भर्ना गराए।

एकेडेमी गएपछि उनले कुनै पनि प्रतियोगिता दुईपटक खेल्नु परेन। स्कुल, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय टिमसम्म पहिलो प्रयासमै सफल भइन्।

 २०६५ सालमा भएको पाँचौँ राष्ट्रिय खेलकुद रुविनाले खेलेको पहिलो राष्ट्रिय प्रतियोगिता थियो।  नेपालगन्जविरूद्ध रुविनाले ६ विकेट लिइन्। त्यसकै आधारमा उनलाई राष्ट्रिय टोलीको ढोका खुल्यो।

रुविनाका लागि आमाको संघर्ष
रुविनाको खेल यात्रामा उनकी आमा मुना क्षेत्री र दाजु पवनको उल्लेख्य योगदान छ। उनीहरूले रूबिनालाई बुवाको कहिल्यै अभाव महसुस हुन दिएनन्। 

रुविनाले आफू एक वर्षकी हुँदा बुवा गुमाइन्। साधारण लेखपढ मात्र जानेकी आमाको संर्घषलाई रुविनाले बिर्सेकी छैनन्। छोराछारीको छाक टार्न कयौँ दिन आमा भोकै बसेको रुविनाले देखेकी छन्। आमाको त्यो संघर्ष नजिकबाट देखेका रुविना र दाजु पवनले सानैबाट राम्रो बाटोमा लाग्ने अठोट लिए।

रुविना एकेडेमी जाने भएपछि ब्याट चाहिने भयो। तर, उनले कसैलाई भनेकी थिइनन्। एक दिन आफ्नै कोठामा ब्याट भेटिन्। त्यो देखेर रुविना आश्चर्यमा परिन्।

दाजु पवनले स्कुल खाजाबाट जोगाएर जम्मा पारेको पैसामा आमाले पनि थपेर ब्याट किनिदिएका रहेछन्। 

त्यो क्षण सम्झिँदै उनी भन्छिन्, ‘ब्याट दिँदै दाजुले तेरा सबै चाहना पूरा गर्छु भन्नुभएको थियो। भाग्यवश म यस्तो परिवारमा परेँ, मलाई चाहिएका कुराबारे मुख खोल्नैपर्दैन। यतिसम्म कि दाजुले मलाई फिट हुने लुगासमेत ल्याइदिन्थे। हामी तीनजनाकै बोन्डिङमा बाल्यकाल कसरी बित्यो पत्तै भएन।’

नागरिकता लिँदाको सकस
रुविना राष्ट्रिय टोलीमा परेपछि नागरिकता बनाउन पनि निकै दुःख गर्नुपर्‍यो। एउटा अवस्था यस्तोसम्म पनि आयो कि उनले क्रिकेट नखेल्ने निर्णय गर्दै जर्सीसमेत फालेकी थिइन्।

टोलीमा परेपछि राहदानी बनाउनुपर्ने भयो। त्यसका लागि पहिले नागरिकता चाहिन्थ्यो। नागरिकता बनाउन उनी झापा गइन्। जन्मदर्ता हातमा हुँदा पनि काठमाडौँसम्म आइपुग्दा उनले नागरिकता पाइनन्। 

जन्मदर्तासँगै स्कुलको प्रमाणपत्र पनि थियो। तर, पनि नागरिकता बनाउन मुस्किल पर्‍यो। त्यसपछि उनले जर्सी फालिन्।

संयोगवश त्यसको भोलिपल्टै उनको घरमा तत्कालीन मेची क्रिकेट संघका अध्यक्ष मनोज कटुवाललगायत पुगे। उनीहरूले झापा प्रशासन हुँदै परराष्ट्र मन्त्रालयमा सबै कागजात मिलाइसकेका रहेछन्।

पटकपटक रित्तो हात फर्किएकी रुविनाको मनमा नागरिकता बन्ने रत्तिभर विश्वास थिएन। उनले समय किन खेर फाल्नेसम्म भनिन्। आमाले सम्झाएपछि काठमाडौँ आइन्। त्यसलगत्तै काम बनिगयो।

नागरिकताको गाँठो फुकेपछि अघि बढेको रुविनाको क्रिकेट यात्रा अनेक उतारचढाव पार गर्दै पहिलो शतकको कीर्तिमानसम्म आइपुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .