ad ad

खेल


वाफ महिला च्याम्पियनसिप : नेपाललाई उपाधिको खडेरी तोड्ने सुन्दर अवसर

वाफ महिला च्याम्पियनसिप : नेपाललाई उपाधिको खडेरी तोड्ने सुन्दर अवसर

तस्बिर : वाफ एसियन फुटबल एसोसियशन


लक्ष्मी जि.सी
फागुन १७, २०८० बिहिबार १३:२७, काठमाडौँ

वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि बिहीबार राति नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ।

साउदी अरबको जेद्दातस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी रिसर्भ स्टेडियममा हुने खेल राति पौने १० बजे सुरु हुनेछ। 

आमन्त्रित टोलीका रुपमा वाफ च्याम्पियनसिप खेलेको नेपाल पहिलो सहभागितामै अपराजित रहेर फाइनल पुगेको हो। 

पश्चिम एसियाका देशहरुबीच हुने च्याम्पियनसिपमा यो पटक नेपाल र ग्वामले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएका हुन्।

समुह ‘ए’ मा रहेको ग्वाम समूह चरणबाटै बाहिरिँदा नेपाल फाइनलमा पुगेको छ। च्याम्पियनसिपअघि नै नेपाललाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो। 

साविक उपविजेता लेबननलाई २–१ ले पराजित गर्दै नेपालले उपाधिका लागि जोर्डनसँगको भेट पक्का गरेको हो। 

सेमिफाइनलको इन्जुरी समयमा प्रीति राईले लेबननविरुद्ध गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी थिइन्।

पहिलो हाफमा डिफेन्डर पूजा रानाको आत्मघाती गोलमा लेबननले सुरुवाती अग्रता बनाएको थियो। 

तर, दोस्रो हाफमा सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन्। निर्धारित ९० मिनेटमा बराबरी भएको खेलको इन्ज्युरी समयमा प्रीतिको दर्शनीय गोलमा नेपालले फाइनल यात्रा तय गरेको हो।

समूह ‘बी’ बाट जोर्डन पनि अपराजित हुँदै फाइनलमा पुगेको हो। जोर्डनले प्यालेस्टाइनलाई ५–० को फराकिलो अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। नेपालका लागि पहिलो उपाधि यात्रामा यो पटक जोर्डन तगारो बन्ने खतरा छ। 

च्याम्पियनसिपमा आठ पटक सहभागिता जनाएको जोर्डन पाँच पटकको च्याम्पियन हो। एक पटक उपविजेता बनेको थियो। 

जोर्डनले यसअघि सन् २००५, २००७, २०१४, २०१९ र २०२२ को उपाधि जितेको थियो। २०१० मा उपाविजेता बनेको थियो।
..........

नेपालका लागि वाफ पहिलो पटक च्याम्पियन बन्ने अवसर हो। यसअघि नेपालले खेल्दै आएका दक्षिण एसियाली खेदकुद (साग), साउथ एसियन फुटबल फेडेरेशन (साफ) च्याम्पियनसिपमा नेपालले स्थायी उपविजेताको छवि बनाएको छ। 

पहिलो पटक दक्षिण एसियाबाहिरका टोलीसँग खेलेको नेपालका लागि वाफ उपाधि जित्ने स्वर्णिम अवसर छ। 

पछिल्लो पटक नेपाल २०७९ को भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो। 

त्यसअघिका प्रतियोगितामा नेपालका लागि भारत मुख्य चुनौती थियो। तर त्यतिबेला सेमिफाइनलमा नै नेपालले भारतको दबदबा तोड्दै फाइनल यात्रा तय गरेको थियो।

साफ च्यम्पियनसिपको सर्वाधिक सफल टोली भारतलाई नेपालले सेमिफाइनलमै हराएको थियो। त्यसअघिका सबै संस्करणको विजेता भारतलाई हराए पनि नेपाल फाइनलमा बंगालदेशसँग पराजित भयो। 

त्यसअघि सन् २०१९ मै भएका साग र साफका दुवै प्रतियोगितामा नेपाल फाइनलमा पराजित भएको थियो। साग पोखरा र त्यसअघि साफ विराटनगरमा भएको थियो। 
.......

च्याम्पियनसिपमा नेपालले अपराजित रुपमा फाइनल यात्रा तय गर्दाकी मुख्य खेलाडी हुन्, सावित्रा भण्डारी ‘साम्बा’।

साम्बा जारी च्याम्पियनसिपकी सर्वाधिक गोलकर्तासमेत हुन्। च्याम्पियनसिपमा ९ गोल गरेकी साम्बा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। 

च्याम्पियनसिपमा ९ गोल गर्दा साम्बाले नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा ५० गोलको कोशेढुङ्गा पार गरेकी थिइन्। 

नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ५३ गोल गरेकी साम्बा दक्षिण एशियाकै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। 

त्यसअघि ५२ गोलसँगै साम्बा र भारतीय टोलीकी स्टार बाला देवीसँगै थिए। तर च्याम्पियनसिपको सेमिफाइनलमा लेबननविरुद्ध गोल गर्दै साम्बाले आफुलाई दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरको रुपमा उभ्याएकी छिन्। 

च्याम्पियनसिपका सबै खेलमा गोल गरेकी साम्बा फाइनलमा भने अनुपस्थित हुनेछिन्। सेमिफाइनल खेल सकेर साम्बा व्यवसायिक लिगका लागि फ्रान्सतर्फ लागिसकेकी छिन्। 

साम्बा फ्रान्सेली क्लब एन अभान्ट गुएङग्याम्पमा अनुबन्ध छिन्। उनी सम्मिलित टोलीको खेल शनिबार छ। साम्बाको टोली गुएङग्याम्पले लिलसँग खेल्दैछ। उक्त खेलमा जित निकाले गुएङग्याम्प रेलिगेसनबाट बच्नेछ। 

फिफाको नियमअनुसार व्यवसायिक लिगमा अनुबन्ध खेलाडी फिफा विन्डोमा राष्ट्रिय टोलीको खेलमा मात्रै अनिवार्य उपस्थिति हुनु पर्नेछ।

यद्यपि क्लब र फुटबल संघबीच सहमति भएमा फिफा विन्डोबाहिरको खेल पनि खेल्न पाउँछन्। तर त्यसका लागि सम्बन्धित संघले क्लबसँग भन्नुपर्ने हुन्छ। 

वाफको समूह चरणका खेलमात्रै फिफा विन्डोमा छ। फाइनल भने फिफा विन्डोभन्दा बाहिरको मितिमा छ। फिफा विन्डोमा ३ खेल खेल्न पाउने नियम छ। 

यद्यपि साम्बाको क्लबले उनलाई सेमिफाइनल पनि खेल्न दिएको थियो। फिफाले फेब्रुअरी १९ देखि २८ लाई महिलातर्फ फिफा विन्डो तोकेको थियो। 

साम्बाको अभाव आजको फाइनमा खट्किन सक्नेछ। तर, पनि पहिलो सहभागितामै फाइनल पुगेको नेपाली टोली उच्च मनोबलमा छ। 

साम्बाको स्थानमा रश्मीकुमारी घिसिङ सुरुवाती ११ मा आउन सक्ने छिन्। यसअघिका खेलमा वैकल्पिक खेलाडी रश्मी र सविता रानामगरमध्ये एकले आजको खेलमा सुरुवाती ११ मा स्थान बनाउन सक्नेछन्। सविता मिडफिल्ड र फरवार्ड दुवैमा खेल्न सक्ने क्षमता राख्छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .