ad ad

खेल


यी ५ महिला खेलाडी, जसले नेपाली खेलकुदलाई दिलाइरहेका छन् दमदार सफलता

यी ५ महिला खेलाडी, जसले नेपाली खेलकुदलाई दिलाइरहेका छन् दमदार सफलता

लक्ष्मी जि.सी
फागुन २५, २०८० शुक्रबार ८:१८, काठमाडौँ

महिला मुक्ति र सशक्तीकरणका लागि मार्च ८ विशेष दिन हो। अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने यो दिन आफैमा विविध विधा र क्षेत्रका महिलाको सहभागिता, उपलब्धि र सफलताका लागि प्रेरणा पनि हो।

यसै अवसरमा हामी यस्ता प्रतिनिधिमूलक महिला खेलाडीको चर्चा यहाँ गर्दै छौँ, जसले समग्र नेपाली खेलकुदमा नै आफ्नो गर्विलो उपस्थिति देखाएका छन्। राष्ट्रका नाममा अमूल्य कीर्तिमानहरू लेखाएका छन्। कतिपय क्षण त पुरुषले भन्दा महिलाले ठूला सफलता हासिल गरेका छन्। 

अन्तर्राष्ट्रिय खेलकुदका ठूला मेलामा पुरुषभन्दा पनि महिला अगाडि रहेको इतिहास छ। चाहे एसियाली खेलकुद (एसियाड) मा सबैभन्दा ठूलो पदक दिलाउने सवाल होस् वा विश्व खेलकुदको महाकुम्भका रुपमा रहेको ओलम्पिकमा छनोट चरणमा महिला खेलाडी नै अगाडि छन्। 

सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोमा सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। नेपालले एसियाडमा जितेको त्यो पहिलो ठूलो पदक थियो। तेक्वान्दोकै संगीना वैद्य एसियाली च्याम्पियन बनेकी थिइन्। त्यो स्तरको उपाधि जित्ने उनी एक्लो नेपाली हुन्। उनै संगीनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी थिइन्। वाइल्ड कार्डको भरमा ओलम्पिकमा भाग लिँदै आएको नेपालका लागि संगीनाले नेपाली खेलाडी छनोट चरण पनि पार गर्न सक्छन् भन्ने उदाहारण दिन सफल भएकी थिइन्। 

त्यस्तै सावित्रा भण्डारी ‘साम्बा’, जो अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्। उनले यसै वर्ष ५० गोल पूरा गरेकी छन्। पुरुष खेलाडीको अन्तर्राष्ट्रिय गोेल १३ रहँदा साम्बाले पुरुषका लागि असम्भवजस्तै लाग्ने कोशेढुंगा पार गरेकी छन्।

महिला फुटबल टोलीको प्रदर्शन पनि पुरुषको भन्दा स्तरीय छ भन्दा फरक पर्दैन। ३८ वर्षयता महिला अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि महिला टोलीको पछिल्लो डेढ दशक उपलब्धिमूलक छ। यद्यपि, टोली च्याम्पियन बन्न भने सकेको छैन। 

सन् २०१० यता साफ च्याम्पियनसिपको एउटा संस्करण र दक्षिण एसियाली च्याम्पियनसिपका सबै संस्करणमा नेपाली महिला टोलीले फाइनल खेलेको छ। साफ, साग र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी महिला टोलीले ११ वटा फाइनल खेलिसकेको छ।

गत साता मात्रै टोलीले वाफ च्याम्पियनसिपको फाइनल खेलेको थियो। साम्बा हाल फ्रान्सको माथिल्लो स्तरको क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी छन्। उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली पनि हुन्। 

त्यस्तै, यो वर्ष एसियाडमा महिला खेलाडीले मात्रै सफलता प्राप्त गरे। चीनमा भएको १९ औं एसियाडमा करातेकी एरिका गुरुङले रजत पदक जितिन्। जुन नेपालको कराते इतिहासमा एसियाडमा जितेको पहिलो रजत पदक हो। पहिलो सहभागितामा नै कबड्डीको महिला टोलीले कास्य पदक जितेको छ।

अवसर पाएको खण्डमा नेपाली महिला खेलाडीले पुरुषले भन्दा बढी र ठूलो सफलता दिलाउन सक्छन् भन्ने पटकपटक प्रमाणित भएको छ। महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षत्री टी–२०मा शतक पूरा गर्ने पहिलो महिला खेलाडी बनेकी छन्। सोही टी–२० मा सीता राना मगरले पनि ह्याट्रिक विकेट लिएकी थिइन्। यो वर्ष खेलकुदमा उच्च प्रदर्शन गर्ने ५ महिला खेलाडीको बारेमा हामीले यहाँ चर्चा गरेका छौं। 

एरिका गुरुङ, कराते 

चीनको हाङझाओमा असोजमा भएको १९ औँ एसियाडमा करातेकी एरिका गुरुङले रजत पदक जित्दै इतिहास कायम गरिन्। 

नेपाली कराते खेलको इतिहासमा एरिकाले जितेको यो अहिलेसम्मकै ठूलो पदक हो। एसियाडमा करातेले रजत पदक जित्न सकेको थिएन। करातेका लागि एरिकाले आफ्नो पहिलो सहभागितामा नै रजत जित्दै इतिहास रचेकी हुन्। 

एरिका यो सफलतासँगै एसियाडमा नेपालले २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत जितेको हो। १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। त्यसयता नेपालले रजत पदक जित्न सकेको थिएन। 

एरिकाले ६८ केजी तौल समूहको सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ ले पराजित गर्दै रजत पदक पक्का गरेकी थिइन्। स्वर्णका लागि भएको स्पर्धामा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभा विजयी भएपछि एरिका रजतमा नै चित्त बुझाउन बाध्य भइन्। 

२०७१ सालमा मनमैजु डोजोमा भर्ना भएकी एरिकाले छोटो समयमा त्यो सफलता हासिल गरेकी हुन् । एसियाडको केही साताअघि उनले डब्लुकेएफ च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन्। गत महिना भएको कृष्णप्रसाद भट्टराई स्मृति करातेमा पनि उनको चुनौती कसैले पार गर्न सकेनन्। उनी आफैले पनि यसलाई अन्य खेलाडीको तुलनामा आफूले छिटो सफलता प्राप्त गर्न सकेको अुनभव साटेकी थिइन्। 

मनमैजु डोजो हुँदै नेपाल पुलिस क्लब पुगेकी एरिका अहिलेकी सर्वाधिक सफल खेलाडी पनि हुन्। 

सावित्रा भण्डारी ‘साम्बा’, फुटबल 

नेपाली फुटबलमा मात्र होइन, दक्षिण एसियाली फुटबलमा नै सावित्रा भण्डारी ‘साम्बा’ नयाँ नाम होइन। 

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ फुटबल क्लबकी स्टार फरवार्ड साम्बाले यो वर्ष कीर्तिमानको चाङ लगाइन्। 

लमजुङमा जन्मिएकी साम्बाले एपीएफ हुँदै सन् २०१४ बाट राष्ट्रिय टोलीको यात्रा तय गरेकी थिइन्। भुटानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी साम्बाले त्यसयता पछि फर्कनु परेको छैन। 

साम्बाले यसै महिना नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान मात्र आफ्नो नाममा गरिनन्, दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा समेत आफ्नो नाम लेखाइन्। 

गत साता साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपका दौरा साम्बाले नेपालका लागि ५० गोल गर्दै कीर्तिमान कायम गरेकी थिइन्। वाफ च्याम्पियनसिपमा नै साम्बाले लेबनानविरुद्ध गोल गर्दै महिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याइन्। 

लेबनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काउँदै साम्बाले दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लेकी हुन्। 

साम्बाले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ५३ गोल गर्दा उनले भारतीय टोलीकी स्टार बालादेवीलाई पछि पारिन्। साम्बा अस्ट्रियाकी निना बर्गरसँगै उभिएकी छिन्। समान ५३ अन्तर्राष्ट्रिय गोल गरेका साम्बा र निना विश्वको सर्वाधिक गोलकर्ताको ३१ औँ स्थानमा छन्। 

सर्वाधिक गोलकर्ताको सूचीमा दक्षिण एसियाबाट साम्बापछि बालादेवी र बंगलादेशकी सविना खातुन छन्। 

घरेलु फुटबलमा एकछत्र राज गरिरहेकी साम्बाले सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्यु गोल गरेकी थिइन्। त्यसयता कीर्तिमानको चाङमा आफूलाई अब्बल बनाएकी साम्बाले २०७६ मा घरेलु मैदानमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा मालदिभ्सविरुद्ध २ गोल गर्दै नेपालको सर्वाधिक गोलकर्ता बनेकी थिइन्। 

साम्बाले नेपालकी पूर्वकप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान तोडेकी थिइन्। जुन गोल संख्यालाई साम्बाले अहिले ५३ पुर्‍याइसकेकी छन्। 

कीर्तिमानहरुकै थुप्रोमा साम्बामा नेपालबाट युरोपमा लिग खेल्ने पहिलो खेलाडी बनेकी छन्।  इजरायलको हापोयल रानानामा अनुबन्ध भएसँगै साम्बा युरोपियन लिग खेल्ने पहिलो खेलाडी बनेकी थिइन्। यद्यपि, उनले त्यहाँ लामो समय बिताउन पाइनन्। साम्बा अहिले फ्रान्सको शीर्ष डिभिजन लिग खेलिरहेको एन अभान्ट गुएङग्याम्पमा अनुबन्धित छिन्। लिगमा ३ खेल खेल्दा साम्बाले १ गोल आफ्नो नाममा गरिसकेकी छन्। 

सन्तोषी श्रेष्ठ, एथलेटिक्स 

चार वर्षअघि घरेलु मैदानमा भएको १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेपछि चर्चामा आएकी सन्तोषी श्रेष्ठ नेपाली एथलेटिक्समा गोल्डेन गर्लको नामले परिचित छिन्। सागमा स्वर्ण पदक जित्ने क्रममा उनले निर्धारित दूरी १ घन्टा १६ मिनेट २२ सेकेन्डमा पूरा गरिन्। 

धादिङकी सन्तोषीले फागुन महिनामा मात्र ४ पदक जितेकी थिइन्। नवौँ धारा नेपालगन्ज म्याराथनमा हाफ म्याराथनकी स्वर्ण विजेता सन्तोषीले त्यसयता लगातार उपाधि चुमिरहेकी छन्। नेपालगन्ज म्याराथन, पोखरा हाफ म्याराथन, धरानमा १० के रन र प्रधानसेनापति हाफ म्याराथन गरी उनले एकै महिनामा चार उपाधि जितेकी छन्। 

पोखरामा‌ हाफ म्याराथनको उपाधि जितेको एक सातामै उनले धरानमा भएको १० किमीमा पहिलो भएकी थिइन्। त्यसअघि उनले पोखरामा भएको १८ औं संस्करणको पोखरा म्याराथनमा निर्धारित दूरी  १ घण्टा १८ मिनेट ३९ सकेण्डमा पार गरिन्। 

१९ औं एसियाडमा बिर्सनलायक प्रदर्शन गरे पनि पछिल्लो समय उनी लयमा फर्केकी छन्। 

सन्तोषीले गत महिना बंगलादेशमा भएको बंगबन्धुमा दक्षिण एसियालीतर्फ म्याराथनको उपाधि जितेकी थिइन्। म्याराथनमा त्यो उनको डेब्यू थियो। सन्तोषीले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन्। 

बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरिन्। पुष्पा भण्डारीको‌ नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई‌ सन्तोषीले‌ तोडेकी हुन्। 

रुविना क्षत्री, क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षत्री बेल्वासेले फागुन १ गते पहिलो शतक हानिन्। रुविनाको शतक नेपालको महिला क्रिकेट टोलीको पहिलो शतक हो। १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेकी रुविनाले शतकका लागि भने १५ वर्ष कुरिन्। 
कप्तानीको जिम्मेवारी छाडेपछि खुलेर प्रदर्शन गरेकी रुविनाले पछिल्लो समय सम्झनलायक प्रर्दशन गरिरहेकी छन्। 

रुविनाले गत फागनु १ गते एसीसी प्रिमियर कपमा मालदिभ्सविरूद्ध शतकीय पारी खेलिन्। २०६५ सालमा राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेकी रुविनाले एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीको नेतृत्व गरिन्। 

रुविनाले सिनियर टोलीमा डेब्यु गरेको चार वर्षमा २०६९ सालमा नेरी थापाको स्थान लिर्दै टोलीको कप्तानी सम्हालेकी थिइन्। 

यसै वर्ष रुविनाको स्थानमा इन्दु बर्माले  टोलीको नेतृत्व सम्हालिरहेकी छन्। नेतृत्व छाडेपछिको पहिलो घरेलु प्रतियोगितामा रुविनाले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उनको प्रर्दशन खुलेको देखियो। उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन्। सर्वोत्कृष्ट बन्ने क्रममा उनले १० खेलमा ३ सय ४५ रन बनाउँदा ११ विकेट लिइन्। 

मलेसियामा भएको एसीसी प्रिमियर कपमा रुविनाले माल्दिभ्सविरूद्ध कीर्तिमानी शतक हानिन्। सो खेलमा उनी १ सय १८ रनमा अविजित रहिन्। 

रुविनाले जसरी कीर्तिमानी शतक पूरा गरिन्, त्यस्तै छ उनको खेल जीवन पनि। उतारचढावपूर्ण खेल जीवन देखेकी रुविनाले टोलीमा परेपछि पनि नागरिकताका कारण निकै दुःख पाइन्। नागरिकताको समस्याकै कारण उनले एक समय क्रिकेट नखेल्ने निर्णयसमेत गरेकी थिइन्।

प्रीति राई, फुटबल 

उमेर समूहको कप्तानी सम्हाल्दै राष्ट्रिय टोलीसम्म आइपुगेकी प्रीति राई नेपाली महिला फुटबल पछ्याउनेका लागि नयाँ नाम होइन। उनलाई कतिपयले भविष्यको महिला टोलीको स्टारका रुपमा हेरेका छन्। 

पछिल्लो समय साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलपछि उनको चर्चा थप चुलियो। गोलसँगै मिडफिल्डमा उनले निर्वाह गरेको भूमिकाले धेरैलाई उनको प्रशंसक बनाएको छ। सेमिफाइनल खेलको इन्ज्युरी समयमा प्रीतिको निर्णायक गोलमा नेपालले फाइनल यात्रा तय गर्यो। 

तर फाइनल खेलमा घाइते भएकी प्रीति अहिले आराम गरिरहेकी छन्। प्रीतिको आइतबार दायाँ घुँडाको मिनिस्कसको शल्यक्रिया गरिएको छ। नियमित फिजियोथेरापीपछि प्रीति ३ महिनामा मैदान फर्कने आशा छ। 

गत वर्ष पनि घुँडाको एमसीएल गएपछि उनले नियमित रिह्याबपछि केही महिनाअघि मात्र मैदान पुनरागमन गरेकी थिइन्। 

उमेर समूहमा नै टोलीको कप्तानी गरेका कारण प्रीति सानो उमेरमा नै परिपक्व देखिन्छिन्। जुनसुकै देशका बलिया खेलाडीका अगाडि हार नमान्ने दृढ प्रीति फेरि पुरानै लयमा फर्कने आशामा छिन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .