नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौमा जारी आठौँ आरबीबी एनभीए महिला-पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ।
फाइनलमा पुगेसँगै आर्मीले अब उपाधिका लागि साविक विजेता टिप टप हेल्प नेपालको सामना गर्नेछ।
आजै भएको पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको थियो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।
आर्मीले पुलिस क्लबलाई १८–२५, २५–२३, २४–२६ र २५–१३ र १५–१३ ले हराउँदै हेल्प नेपालसँगको भेट पक्का गरेको हो।
पहिलो सेट गुमाएको आर्मीले दोस्रो सेटमा पूनरागमन गर्दै खेललाई बराबरीमा ल्यायो। प्रतिस्पर्धात्मक खेलको तेस्रो सेट पुलिस क्लबले आफ्नो पक्षमा पार्यो।
चौथो सेटमा पुनरागमन गरेको आर्मीले पाचौँ तथा निर्णायक सेट आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाएको हो।
पराजित भएसँगै पुलिस क्लबले अब तेस्रो स्थानमा लागि शनिबार गण्डकी प्रदेशसँग खेल्नेछ।
च्याम्पियनसिपमा भोलि शनिबार महिला र पुरुषतर्फको फाइनल खेल हुनेछ। शनिबार नै पुरुषतर्फको तेस्रो स्थानका लागि खेल हुनेछ।
शुक्रबार नै महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा एपीएफ क्लबले चन्द्रागिरी न्यु डायमण्डलाई हराएको थियो।
दुवैतर्फको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Shares
प्रतिक्रिया