आईसीसी टी–२० विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ। अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर क्रिकेट टोलीका सदस्यहरू दुई समूहमा बाँडिएर नेपाल फर्किएको हो।
सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको हो।
तर, विश्वकपकै लागि वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छैनन्। क्यान स्रोतका अनुसार, बुधबार र बिहीबार दुई समूहमा गरी आएको टोली अमेरिकाबाट सिधै नेपाल आएको हो।
विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)
सन्दीपको भने अमेरिकाको भिसा छैन। उनलाई नेपालस्थित अमेरिकन दूतावासले भिसा नदिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए।
उनी वेस्ट इन्डिजबाट क्यानडा हुँदै नेपाल आउने बताइएको छ।
१४ वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपबाट यात्रा टुंग्याएको थियो।
Shares
प्रतिक्रिया