ad ad

खेल


श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक सिल्भरवुडले दिए राजीनामा

श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक सिल्भरवुडले दिए राजीनामा

नेपालखबर
असार १३, २०८१ बिहिबार १६:३५, काठमाडौँ

श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले राजीनामा दिएका छन्। अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकप क्रिकेटमा श्रीलंका समूह चरणबाटै बाहिरिएपछि इंगल्यान्डका पूर्व तीव्र गतिका बलर सिल्भरले श्रीलंकन टिमको जिम्मेवारी त्यागेका हुन्।

उनी सन् २०२२ मा श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। 

विश्वकपमा श्रीलंका नेपाल रहेकै समूह डी मा रहेको थियो। तर यो समूहबाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा प्रवेश गरेका थिए। समूहमा श्रीलंकाले नेदरल्याण्ड्सलाई मात्रै पराजित गरेको थियो। नेपालसँगको खेल वर्षाका कारण रद्द भएको थियो। 

यो समूहबाट अगाडी बढेको दक्षिण अफ्रिका विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अब उसले उपाधिका लागि भारत र इंग्ल्याण्डको विजेतासँग भिड्नेछ। 

सिल्भरवुडको नेतृत्वमा श्रीलंकाले सन् २०२२ को एसिया कप, अस्ट्रेलियासँगको एकदिवसीय शृङ्खला र बङ्गलादेशसँगको टेस्ट शृङ्खला जितेको थियो। सन् २०२३ को एसिया कपको फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेन। 

सन् २०२२ मा जस्तै २०२४ को टी–२० विश्वकपमा पनि समूह चरणबाट अगाडी बढ्न सकेन। सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि समूहचरणबाटै बाहिरिएको थियो। 

‘अन्तर्राष्ट्रिय प्रशिक्षक हुनु भनेको प्रियजनबाट लामो समय टाढा हुनु हो। मेरो परिवारसँग लामो कुराकानी र भारी हृदयका साथ अब घर फर्कने र सँगै केही गुणस्तरीय समय बिताउने समय आएको छ’, सिल्भरवुडले राजीनामाको कारणबारे भनेका छन्।

उनले भने, ‘म श्रीलंकामा रहँदा सहयोग गरेकोमा खेलाडी, प्रशिक्षक, स्टाफ र श्रीलंकन क्रिकेटको व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु। तपाईहरुको सहयोग बिना कुनै पनि सफलता सम्भव थिएन।’

सिल्भरवुडले थपे, ‘श्रीलंका क्रिकेटको हिस्सा हुन पाउनु मेरो लागि साँच्चिकै सम्मानको कुरा हो र म धेरै मिठा सम्झनाहरू लिएर जानेछु।’

श्रीलंका क्रिकेटले क्रिस सिल्भरवुडलाई उनलाई सुन्दर भविष्यका लागि शुभकामना दिँदै कार्यकालमा गरेको बहुमूल्य योगदानको लागि धन्यवाद दिएको छ।

यसअघि बुधबार मात्रै महेला जयवद्र्धनेले ‘सल्लाहकार प्रशिक्षक’ को पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .