ad ad

खेल


कर्णाली रंगशाला अनुगमनपछि प्रचण्डले भने- दसौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुनुपर्छ

पाराओलम्पिक्समा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशालाई दिए बधाई
कर्णाली रंगशाला अनुगमनपछि प्रचण्डले भने- दसौँ राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुनुपर्छ

नेपालखबर
भदौ १५, २०८१ शनिबार ९:५४, सुर्खेत

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन्। 

शनिबार (आज) बिहान सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले दसौँ राष्ट्रिय खेलकुद निर्धारित मिति आगामी मंसिरमै हुनुपर्ने बताएका हुन्।

‘दसौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भूल सरकारले नगरोस्’, उनले भने, ‘यसमा पनि राजनीति गरेर दसौँ राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’ 

उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुन रूपमा निर्माण करिब-करिब सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुसी र गौरवको कुरा हो’,  उनले भने, ‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री विमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्त्वको छ।’

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए।

लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको उनले बताए।

आफू तीनपटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिँएकाे दाबी पनि अध्यक्ष प्रचण्डले गरे। 

अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्‌का सदस्य-सचिव विश्वामित्र सञ्ज्याललगायत खेल पदाधिकारीको उपस्थिति थियो।

यसैबीच अध्यक्ष प्रचण्डले पेरिस पाराओलम्पिकमा ऐतिहासिक काँस्य पदक जित्ने पलेशा गोबर्धनलगायत खेल पदाधिकारीलाई बधाई तथा शुभकामना पनि दिए। 

सुर्खेत रंगशाला अनुगमनपछि उनले यो ऐतिहासिक जित नेपालको गौरवको विषय भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .