ad ad

खेल


पदक विजेता पलेशा कांग्रेसद्वारा सम्मानित

पदक विजेता पलेशा कांग्रेसद्वारा सम्मानित

नेपालखबर
भदौ २३, २०८१ आइतबार २१:३५, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारा ओलम्पिक–२०२४ की ऐतिहासिक कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ।

सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पलेशालाई रु पाँच लाखसहित प्रशंसापत्र प्रदान गरे।

त्यसैगरी, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख ५० हजार तथा पेरिस पारा ओलम्पिकमा सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महतालाई रु ५० हजारसहित प्रशंसापत्रबाट सम्मानित गरे। यस्तै व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो सङ्घलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो।

सभापति देउवाले नेपालकी छोरी पलेशाले पारा ओलम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको उल्लेख गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे। उनले  पलेशालाई बधाई दिँदै आगामी दिनमा अझ बढी सफलताका लागि शुभकामना दिए।  

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको उल्लेख गर्दै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिनसके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले पारा खेलकुदमार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको भन्दै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र खेलकुद भएको बताए। उनले खेलकुद राज्यको प्राथमिकतामा पर्नुपर्ने जिकिर गर्दै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताए।

फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न के–४४ विधामा महिला ५७ किलोमुनि रिपेचेजतर्फ कास्य पदक जितेकी थिइन्। पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अङ्कले पराजित गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .