खेल


कहिले सुरु होला खेल गतिविधि? के छ सरकार र खेल संघहरुको योजना?

कहिले सुरु होला खेल गतिविधि? के छ सरकार र खेल संघहरुको योजना?

लक्ष्मी जि.सी
असोज ६, २०७७ मंगलबार १२:३०,

महिनौंदेखि जारी कोरोना महामारी अझै कम भएको छैन। हरेक दिन संक्रमितको संख्या बढी रहेको छ।

सरकारले संक्रमण नियन्त्रणका लागि भन्दै चैत ११ देखि लागु गरेको बिभिन्न स्वरुपको लकडाउन तथा निषेधाज्ञा केहि दिनदेखि हटाएको छ।

लकडाउन तथा निषेधाज्ञाका कारण सर्वसाधारणको जनजीवन अस्तव्यस्त हुनुका साथै बजार–व्यवसाय र समग्र अर्थतन्त्र नै धरासायी हुन लागेको भनी सरकारले लगभग सबै क्षेत्र खुला गरेको छ।

त्योसँगै विस्तारै प्रायः सबै क्षेत्र चलायमान भएका छन्।

तर, प्रशासनले केहि क्षेत्रका गतिबिधि सुचारु गर्न भने अझै स्वीकृति दिएको छैन। जसमा खेलकुद क्षेत्र पनि छ। स्कूल, कलेज, फिल्महल लगायत क्षेत्र पनि अझै बन्द छन्।

Karate training 1

६ महिनायता खेलकुद क्षेत्र त ठप्पै छ। खेल प्रतियोगिता मात्र हाेइन व्यक्तिगत बाहेक खेलाडीको प्रशिक्षण पनि हुन सकेको छैन।

लकडाउनको अन्त्यपछि खुला भएका बेला केहि दिन खेलकुद प्रशिक्षणलाई सुचारु गर्ने केहि प्रयास भएको थियो। तर, सुरु गरिएका सीमित खेल प्रशिक्षण पनि भदौको पहिलो साता निषेधाज्ञा लागु भएपछि फेरि रोकिएका छन्।

त्यसपछि प्रशिक्षण पनि सुरु हुन सकेको छैन। एकातिर कोरोना संक्रमण र अर्कोतर्फ दशैँ तिहार नजिकिदै गर्दा के खेलाडीको प्रशिक्षण छिट्टै सुरु होला भन्ने प्रश्न उठेकाे छ। यसबारे खेलकुद मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मौन छ।

महामारीबीच पनि युरोपियन फुटबल, इण्डियन प्रिमियर लिग (आइपिएल), अन्तर्राष्ट्रिय क्रिकेट, टेनिसलगायतका अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भने दर्शकबिना नै सुरु गरिएको छ।

ती खेलमा पनि स्वास्थ्यलाई ध्यानमा राख्दै दर्शकका लागि भने रोक लगाइएको छ। दर्शकबिनाका खेलमा रौनक नभए पनि खेलकुद गतिबिधिले निरन्तरता पाउँदा खेलाडीलाई भने ठूलो राहत भएको छ। शारीरिक दूरी लगायतका स्वास्थ्य प्रोटोकल पालना गरी ती प्रतियोगिताहरु आयोजना गरिएको छ।

यता नेपाली खेलकुद गतिबिधि सुचारु गर्ने कुनै संकेत देखिँदैन। सम्बन्धित निकाय र अधिकारीहरु कसैसँग पनि खेल क्षेत्रलाई पुनर्जागृत गर्ने कुनै प्रष्ट खाका छैन।

cricket national team 536

यहि अवस्था यथावत रहँदा खेलाडीको शारिरिक फिटनेस र मनोदशामा पनि असर पर्ने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सघंका अध्यक्ष दीपक श्रेष्ठको चिन्ता छ।

कराते खेलाडीका प्रशिक्षक समेत रहेका श्रेष्ठ भन्छन्, ‘यो पछिल्लो ६ महिनामा खेलाडीको फिटनेसमा निकै असर परेको छ। मानसिक रुपमा पनि असर परेको छ। यसले गर्दा भविष्यमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा पनि प्रभाव पार्न सक्छ।’

श्रेष्ठले अन्य देशमा खेलाडीलाई ओलम्पिक छनोटको तयारीस्वरुप प्रशिक्षण दिन सुरु भइसक्दा नेपालमा त्यसका लागि कुनै प्रयास पनि नगरिएको बताए।

यसका कारण खेलाडीमा निराशा छाउन सक्ने भन्दै उनले खेल गतिबिधि सुचारु नगर्दा दिर्घकालीन समस्या आउनसक्ने बताए।

खेलकुद सरकारको प्राथमिकतामा परेको देखिदैन। पछिल्लो ६ महिनामा खेलकुदलाई सुचारु गर्ने विषयमा सरकारले छलफल समेत अघि बढाएको छैन।

यसबीचमा, खेलकुदलाई चलायमान बनाउन आफूहरु तयारीमा जुटेको राखेपका उपाध्यक्ष शिव कोइरालाको भनाइ छ। तर, कुनै ठोस कदम ल्याएको भने देखिदैन।

उपाध्यक्ष कोइरालाले भने, ‘सधै खेलकुदलाइ यसरी जाम गराएर राख्न हुँदैन। खेलकुद सुरु गर्नेबारे कुनै निर्णय नै गरिएको छैनौं। तर विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई पालना गरेर खेलकुद सुरु गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’

national team nepal football

यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण सुरु गर्न राखेपमार्फत सरकारलाइ पहल गरेपनि कुनै जवाफ भने पाएको छैन।

‘हामी विश्व स्वास्थ्य संगठन र फिफाको प्रोटोकललाइ मानेर प्रतियोगिता र प्रशिक्षण सुरु गर्न तयार छौँ,’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘तर सरकारको अनुमतिबिना हामी केहि गर्न सक्दैनौं। सरकारको अनुमती कुरिरहेका छौं।’

नेपाल भलिबल संघले पनि सरकारको निर्देशन पर्खिरहेको छ। सरकारले अनुमति दिएमा प्रशिक्षण र प्रतियोगिताका लागि संघ तयार रहेको अध्यक्ष मनोरञ्जनरमण शर्माले बताए।

खेल गतिविधि सुरु नगर्ने हो भने खेलाडी पलायनको खतरा रहेको खेलाडी संघका अध्यक्ष श्रेष्ठको अुनमान छ।

‘विदेशमा खेलाडी प्रशिक्षण र प्रतियोगितामा व्यस्त रहँदा हाम्रा खेलाडी घरमै खुम्चिएर बस्नुपरेको छ,’ उनले भने, ‘यसले गर्दा खेलाडीलाई पुरानै लयमा फर्कन निकै गाह्रो हुन्छ। त्यसले पनि खेलाडीको मनोबलमा पक्कै असर पर्छ। यसलाई राखेप र सरकारले गम्भीरतापूर्वक लिएर कदम चाल्नुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .