खेल


‘माछापुच्छ्रेको आँगनमा’ बन्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला? यस्तो छ पोखरामा तयारी

‘माछापुच्छ्रेको आँगनमा’ बन्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला? यस्तो छ पोखरामा तयारी

लक्ष्मी जि.सी
असोज २५, २०७७ आइतबार १०:४६,

खेलकुद गतिबिधिका हिसाबले काठमाडौं उपत्यकापछि कास्कीको पोखरा बढि चलायमान मानिन्छ।

फुटबल र भलिबल निकै लोकप्रिय रहेको पोखरामा केहि वर्षयता विस्तारै क्रिकेटले पनि यहाँका युवा र दर्शकको मन जित्दै छ।

पोखराको प्राकृतिक सौन्दर्य पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकबीच एक सशक्त आकर्षण बन्नसक्ने बताइन्छ।

दुई वर्षअघि फ्रेन्चाइज क्रिकेट पोखरा प्रिमियर लिग (पीपीएल) सुरु भएपछि पोखरामा क्रिकेट लोकप्रिय हुँदै जाने संकेत देखिएको छ।

पोखरा रंगशालाभित्रै रहेको क्रिकेट मैदानमा पीपीएलको पहिलो संस्करणका बेला विश्व कप ट्रफी केहि समयका लागि प्रदर्शनमा राखिएको थियो।

Pokhara IntlCricketStadium 1a

माछापुच्छ्रेलाई पृष्ठभूमीमा राखेर खिचिएको ट्रफीको तस्बिरले त्यतिबेला निकै चर्चा पाएको थियो। सो ट्रफी प्रदर्शनीको दृष्य र माछापुच्छ्रेको आँगनमै खेलेजस्तै देखिने पीपीएलका तस्बिरले त्यतिबेला धेरैलाई मन्त्रमुग्ध मात्र पारेन पोखरामा क्रिकेटको भविष्य खोज्न समेत झक्झक्यायो।

नेपालमा क्रिकेट फैलिँदो क्रममा रहेका बेला गण्डकी प्रदेश सरकारले पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट रगंशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।

प्रदेश सरकारको योजनाअनुसार ४ वर्षमा रंगशाला तयार भएको अवस्थामा घरेलु क्रिकेट र सम्भवतः अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाका लागि समेत यो एउटा बलियो विकल्प बन्न सक्छ।

धुर्मुस सुन्तली फाउन्डेसनले पनि झन्डै ३ अर्ब रुपैयाँको अनुमानित लागतका साथ चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिरहेको छ।

Pokhara IntlCricketStadium 5a

गण्डकी सरकारले पोखरा महानगरपालिकाको ३३ नम्बर वडामा रहेको पशुपतिघाटमा करिब १ सय ७४ रोपनी क्षेत्रफलमा रंगशाला निर्माण गर्न लागेको हो। त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकिएको छ।

डीपीआरमा रंगशालासम्म पुग्ने बाटो, नदी नियन्त्रण, पेभेलियन, पिच, होस्टल, भिआइपी बिल्डिङ, मिडिया कक्षलगायत संरचना तथा सुविधा रहने उल्लेख गरिएको छ।

रंगशाला निमार्ण गर्न १ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा खेलकुद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले नेपालखबरलाई बताए।

ललितपुरको विआरएस इन्जिनियरिङ्ग सोलुसन प्रा.लि.ले करिब १५ लाख रुपैयाँमा क्रिकेट मैदानको डीपीआर तयार पारेको हो। क्रिकेट मैदानको निर्माण थाल्नुअघि नदी संरक्षणका लागि काम सुरु गरिने बताइएको छ।

संघीय सरकारले २०७६ माघ २० गते खेलकुद प्रतियोगिताका लागि जग्गा उपयोग गर्न दिने निर्णय गरेसँगै प्रदेशले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अघि बढाएको हो।

पर्याप्त बजेट भएपछि प्रदेशले निर्माणका लागि बोलपत्र आव्हान गर्ने उनले बताए। निर्माण सुरु भएको ३ देखि ४ वर्षमा मैदान तयार गरिसक्ने लक्ष्य रहेको उनले सुनाए।

Pokhara IntlCricketStadium 3a

मैदानका लागि मुख्यतः प्रदेश सरकारले लगानी गर्ने जनाउँदै प्रवक्ता काफ्लेले सो योजनामा संघीय सरकारले पनि केहि सहयोग गर्ने बताए।

पोखरा महानगरपालिकाले पनि पूर्वाधार निर्माणका लागि सहयोग गर्ने बताइएको छ। महानगरले रगंशालासम्म पुग्नका लागि बाटो निर्माणको काम छिट्टै सुरु गर्ने जनाइएको छ।

सुरुमा २० हजार दर्शक क्षमताको रंगशाला बनाउने भनिएको थियो। काफ्लेका अनुसार डीपीआरमा भने १८ हजार दर्शक क्षमता उल्लेख गरिएको छ।

पोखरामा भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुईवटा मैदान आवश्यक पर्ने देखिएकै कारण प्रदेश सरकारले क्रिकेट मैदान बनाउन लागेको काफ्ले बताउँछन्।

ठूला प्रतियोगिता आयोजना गर्दा एउटा मैदानले मात्र पुग्दैन काफ्लेले भने, ‘नयाँ मैदान बनेपछि एकैदिन दुई खेल पनि आयोजना गर्न सकिन्छ र प्रशिक्षणलाई पनि सहज हुनेछ।’

गतवर्ष आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ८ वटा खेल पोखरामा आयोजना गरिएको थियो।

पोखरा रंगशाला सागकै लागि पूर्ननिर्माण गरिएको थियो। पोखरा रंगशालामै रहेको क्रिकेट मैदानमा सागको महिला क्रिकेट आयोजना भएको थियो।

पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको त्यो नै पहिलो पटक थियो।

प्रदेश सरकारले नयाँ मैदान निर्माण गर्न सकेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा आयोजना हुने सम्भावना रहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .