खेल


नयाँ जीवन पाएका क्रिकेटर ललितको मैदान फर्किने हुटहुटी

नयाँ जीवन पाएका क्रिकेटर ललितको मैदान फर्किने हुटहुटी

लक्ष्मी जि.सी
कात्तिक ३, २०७७ सोमबार १०:३५,

क्रिकेटर ललितसिंह भण्डारी भदौ २८ गते साँझ महेन्द्रनगरबाट धनगढी जाँदै थिए। उनी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दियो। दुर्घटनामा गम्भीर घाइते भएका ललितको स्वास्थ्य अवस्थामा अहिले तीव्र सुधार हुँदै गएको छ। स्वास्थ्यले साथ दिए अर्को वर्षसम्ममा मैदान फर्किने उनको चाहना छ।

दुर्घटनापछिका दुई दिन ललितको अवस्था चिन्ताजनक थियो। अचेत भएका ललितलाई उपचारका लागि कोहलपुरबाट नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको थियो। अर्को दिन उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइयो।

दुर्घटनामा ललितको दायाँ हात, खुट्टा, टाउको, छाती, कुम र एंकलमा चोट लागेको थियो। उनको हात र खुट्टाको शल्यक्रिया नै गर्नुपर्‍यो। झन्डै ३ साताको अस्पताल बसाइपछि उनी असोज २० गते डिस्चार्ज भए।

अहिले उनको दायाँ खुट्टामा बढी समस्या छ। वाकरको सहायतमा हिँड्ने उनी घरमै हरेक २ दिनमा ड्रेसिङ गराइरहेका छन्। डाक्टरको सल्लाहमा सातामा एक पटक अस्पताल जाने गरेका छन्।

‘दुखाइ पहिलोभन्दा निकै कम छ, सर्जरी गरेको ठाउँमा कहिलेकाहीँ दुख्छ,’ ललित भन्छन्।

दुर्घटनापछि ललितले नयाँ जीवन पाएको महसुस गरेका छन्।

‘दुर्घटनाको क्षण सम्झिँदा साह्रै नमज्जा लाग्छ,’ ललित भन्छन्, ‘तर आफूलाइ भाग्यमानी ठान्छु। त्यो अवस्थामा पुगेको मान्छै कमै मात्र बाँच्छन् भन्ने सुनेको थिएँ। त्यसमध्ये पनि पनि एक हुँ।’

LalitBhandari with Medal

ललितको उपचारमा सघाउनेमा क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सीप्यान) सबैभन्दा अगाडि रह्यो। सरकारले उपचार गर्देला भन्ने आशा गरेको भए सायद परिस्थित अर्कै हुन्थ्यो।

ललितको उपचारका लागि सिप्यानले आर्थिक संकलन अभियान नै चलायो। त्यही संकलित रकमबाट नै हेलिकोप्टरको भाडा तिर्नदेखि उपचार खर्च धानियो। सिप्यानका महासचिव पारस खड्काले केही दिन अघि सामाजिक सञ्जालमा १२ लाख रुपैयाँ उठेको जानकारी गराएका थिए।

ललितको उपचारका क्रममा सक्रिय रहेका राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका पारसले ललितको स्वास्थ्यमा देखिएको सुधार चमत्कार भएको जनाएका छन्।

पारसले ललितको मनोबल र उनकी श्रीमतीको साथको पनि प्रशंसा गरेका छन्।

‘रमाइलो गर्नुपर्ने, हाँसिराख्नुपर्ने मान्छे। निकै सुधार भएको छ। डाक्टरहरुका अनुसार केही समयपछि अर्को एउटा शल्यक्रिया गर्नुपर्ने छ। आशा गरौं उनी एक वर्ष जतिमा मैदान फर्कनेछन्,’ पारसले भने।

ललितको होस कोहलपुर अस्पतालमा खुलेको थियो।

‘मलाइ के के भएको छ पनि थाहा थिएन। त्यो बेलामा डाक्टरहरुले पारस दाइले काठमाडौँ ल्याउन भन्नुभएको छ मात्र भन्नुभयो,’ ललित भने, ‘काठमाडौँ आएपछि मात्र अपे्रसन गर्नपर्छ भन्ने थाहा पाएँ।’

आफ्नो उपचारमा सिप्यान, पारस, पारसकी श्रीमती प्राप्ती राना र पत्रकार सोनिका अर्यालले निकै सहयोग गरेको ललित बताउँछन्।

‘सिप्यानले धेरै सहयोग गर्‍यो। सँगै खेलेका साथीहरुको पनि राम्रो सहयोग पाएँ। क्रिकेट समर्थकको साथ र सहयोग पाएँ,’ उनले भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु। गाह्रो अवस्थामा मलाई साथ दिनुभयो।’

चितवन टाइगर्स लगायत अन्य केहीले संस्थागत र व्यक्तिगत रुपमा पनि उनको उपचारमा सहयोग गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलावल उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए। सिलवालले राखेपबाट सहयोग गर्ने वचन पनि दिएका थिए। तर, सरकारका तर्फबाट उनलाई कुनै सहयोग प्राप्त भएन।

छिट्टै मैदान फर्कने आशा
ललित पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर थिए। उनी नेपाल पुलिस क्लबमा आबद्ध छन्। अवस्था सुधार हुँदै गए सातआठ महिनामा मैदान फर्किने हुटहुटी छ।

‘डाक्टरहरुले पहिले जस्तै खेल्न सक्छौ भन्नु भएको छ। आराम मिल्दै गएपछि फिजियो गरेर पहिलेकै अवस्थामा मैदान फर्कन सक्छु भन्ने आशा छ,’ उनले भने।

राष्ट्रिय टोलीमा पुनरागमनको आशा पनि उनलाई छ। कमब्याक गर्न सक्छु भन्ने लाग्छ। तर त्यसका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ। म आफ्नोतर्फबाट पूरा प्रयास गर्नेछु,’ उनी भन्छन्।

कञ्चनपुरको शुक्लाफाँट नगरपालिकामा जन्मिएका ललितले सन् २०१० देखि उमेर समूहबाट क्रिकेट खेल्न थालेका थिए। २०१३ को यु–१९ युथ एसिया कपमा पहिलो पटक देशका लागि उनले खैल्ने मौका पाएका थिए। पाकिस्तानविरुद्धको डेब्यु खेलमै २ विकेट लिएर ललितले आफ्नो क्षमता देखाए।

बायाँ हाते तीव्र गतिका बलर उनले २०१७ मा सिनियर टोलीमा मौका पाए। संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा घरेलु टोलीविरुद्ध उनले डेब्यु गरे। सोही वर्ष नेदल्यान्ड्ससँगको एकदिवसीय सिरिजमा १ रनले जित निकाल्ने क्रममा उनले २ विकेट लिएका थिए। साथै डीपीएलको दोस्रो संस्करणमा उनी मोस्ट भ्यालुएबल प्लेयर बनेका थिए।

याे पनि: 
दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज

क्रिकेटर भण्डारीको शल्यक्रिया सफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .