रुपन्देहीमा भएको हाफ म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत फलेबास नगरपालिका–२, थापाथाना, पर्वतका अनिस थापा मगरले हात पार्न सफल भएका छन्।
गोरखा राइफल, हैदरावादमा कार्यरत थापाले २१ किलोमिटरको हाफ म्याराथन १ घण्टा ६ मिनेट ३९ सेकेन्डमा पार गर्दै उपाधि चुमेका हुन्।
उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ प्राप्त गरेका छन्। यस्तै, भारतीय सेनामै कार्यरत हिलयाङ गाउँपालिका–५, सुभाङ, पाँचथरका दीपक सुहाङले द्वितीय स्थान हासिल गर्न सफल भए। गोरखा राइफल, हैदरावादमै कार्यरत सुहाङले १ घण्टा ८ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै नगद ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी, कपिलवस्तुमा कार्यरत गोदावारी नगरपालिका–३, अत्तरिया, कैलालीका किरणसिंह बोगटी तृतीय स्थान प्राप्त गर्न सफल भए। उनले १ घण्टा ९ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै नगद ५० हजार रुपैयाँ प्राप्त गरे।
मिलन कार्की र श्रीकास राई सान्त्वना भए। उनीहरुले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
महिलातर्फ सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी, कपिलवस्तुमा कार्यरत दैलेख नौमूलेकी भावना शाहीले उपाधि जितिन्। १ घण्टा ३८ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गरेकी उनले नगद २० हजार रुपैयाँ प्राप्त गरिन्।
यस्तै, नेपाली सेनाको गोरखदल गणमा कार्यरत तिनाउ गाउँपालिका, पाल्पाकी मनिषा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै द्वितीय स्थान हासिल गरिन्। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन्। बारबर्दिया नगरपालिका–२, बर्दियाकी कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै तृतीय भइन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। विपिका पुन सान्त्वना भई नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरिन्।
रोटरी इन्टरनेसनल डेको अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजनामा हाफ म्याराथन आयोजना गरिएको हो। उपाधि विजेताहरुलाई रोटरी क्लबका गभर्नर राजीव पाख्रेल र रोटरी क्लब अफ भैरहवाका पूर्वअध्यक्ष राजकुमार गुप्ताले पुरस्कार प्रदान गरेका थिए।
बुटवलदेखि भैरहवासम्म २१ किलोमिटरको दूरीमा भएको हाफ म्याराथनमा ११६ जना धावकको सहभागिता रहेको आयोजकले जनाएका छन्।
Shares
प्रतिक्रिया