खेल


कर्णालीका खेलाडीलाई पहिचान झल्किने अलग्गै पोसाक

कर्णालीका खेलाडीलाई पहिचान झल्किने अलग्गै पोसाक

कर्णालीका खेलाडीलाई पहिचान झल्किने अलग्गै पोसाकका लागि बनाइएका डमी।


दिनेश बुढा
माघ २४, २०८० बुधबार १३:१८, सुर्खेत

कर्णाली प्रदेशका खेलाडीहरूले अब कर्णालीको पहिचान झल्किने पोसाक लगाउने भएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरूका लागि कर्णालीको पहिचान झल्किने छुट्टै पोसाक बनाएको हो। 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले परिषद्को बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरेको बताए। 

उनले सोही निर्णयअनुसार खेलाडीहरूका लागि कर्णालीका विभिन्न पर्यटकीय स्थल, कर्णालीमा पाइने दुर्लभ वन्यजन्तु, हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीका आकृति समावेश खेल पोसाक र मार्च पास पोसाक तयार पारिएको जानकारी दिए। 

यस्तै गेम पोसाक रातो र नीलो गरी दुई रङमा छन् भने मार्च पास पोसाक एउटा रङमा तयार पारिएको छ। 

परिषद्का अनुसार खेल पोसाक र मार्च पास पोसाक महिला र पुरुष दुवै खेलाडीले लगाउन मिल्ने छ। पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपी, सुटमा कर्णाली झल्किने चिह्न राखिएको छ।

परिषद्का सदस्य सचिव सञ्ज्यालले पार्च पास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌को लोगो राखिएको बताए।

उनले भने, ‘गेम पोसाकमा कर्णाली नदी, कर्णालीमा पाइने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लभ वन्यजन्तु याक राखिएको छ। गेम पोसाकमा समेटिएको रातो रङ, नेपालको झण्डा र नीलो रङ रारा, कर्णाली बोर्डरसँग मिल्ने भएकाले दुई रङ छानिएका छन्।’ 

उनले थपे, ‘मार्च पास पोसाक भने कर्णालीको उत्पादनसँग मिल्दो हुनु पर्ने छ। यो पोसाकलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कानुनी रूपमा नै राष्ट्रिय खेलकुद परिषद्‌मा दर्ता गर्ने छ। दर्तापश्चात् अन्य प्रदेशले कर्णालीको रङमा कुनै पनि पोसाक बनाउन पाउने छैन।बनाएमा कपिराइट लाग्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .